जेन–जी आन्दोलनका कारण ठप्प भएको नेपालका वैदेशिक व्यापार पुन: सुचारु भएको छ।
आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएपछि २४ र २५ भदौमा देशभरका सबै नाका बन्द भएका थिए।
नयाँ सरकार गठनसँगै भारतसँग जोडिएका आठ नाकामा आयात–निर्यात सहज बन्न थालेको छ। बजारमा चहलपहल र आर्थिक गतिविधि बढ्न थालेको छ।
पूर्वी नाकाहरू जस्तै मेची र झापाको भद्रपुर नाका पनि आंशिक रूपमा वा सीमित रूपमा सञ्चालनमा आएका छन्।
आगजनीबाट क्षति पुगेको भन्सार कार्यालयमा बैठक कोठा र निजी उपकरण प्रयोग गरेर जाँचपासको काम सुरु गरिएको छ।
जनकपुर भन्सार भने अझै पूर्ण रूपमा खुल्न सकेको छैन।
वीरगन्ज, भैरहवा, कपिलवस्तु, नेपालगन्ज, गड्डाचौकी–वनबासा र त्रिनगर नाका क्रमिक रूपमा सुचारु भएका छन्।
वीरगन्ज र भैरहवा नाकाबाट ठूलो संख्यामा मालवाहक सवारीसाधन आवतजावत भइरहेको छ। पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुहरूको आपूर्ति पनि पुन: सुरु भएको छ।
कैलालीको त्रिनगर नाका पनि अब सेवा दिइरहेको छ। आन्दोलनका क्रममा भन्सार कार्यालयमा रहेका कम्प्युटर, कागजात, गाडी र अन्य सामग्री जलेर नष्ट भए पनि अहिले सबैखाले सामानको जाँचपास दिन थालिएको छ।