जेनजी पुस्ताद्वारा सञ्चालन गरिएको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा नेपाल ट्रक यातायात व्यवसायी महासंघले श्रद्धाञ्जली अर्पण गरेको छ।
महासंघका महासचिव राजेन्द्र बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा शान्तिपूर्ण संवाद र सहकार्यमार्फत समस्या समाधान गरी बन्द अवस्थामा पुगेको यातायात पुनः सञ्चालनमा ल्याउन अपील गरिएको छ।
महासंघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
महासंघले विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ, औद्योगिक उत्पादन र औषधि आपूर्ति समेत प्रभावित भएको उल्लेख गर्दै यसले व्यवसायी, चालक, सहचालक, मजदुर र सर्वसाधारणलाई कठिनाइमा पारेको जनाएको छ।
साथै महासंघले कानुनअनुसार कर तिर्ने र रोजगारी सिर्जना गर्ने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानुनी सुरक्षा दिनुपर्ने र आन्दोलनका कारण दैनिक नोक्सानी व्यहोर्न बाध्य क्षेत्रको राहत र क्षतिपूर्ति तुरुन्त व्यवस्था गर्नुपर्ने जोड दिएको छ।
महासंघले जेनजी पुस्ताले उठाएका राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकार, राजनीतिक दल र सरोकारवालाहरुलाई अपील गर्दै संविधानको रक्षा गर्दै सडक यातायात सञ्चालनमा ल्याउन र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेको छ।