Skip to content
भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने ३३.५ किलोमिटर लामो भोजपुर–दिङ्ला सडक कालोपत्र थालिएको छ।
कोशी प्रदेश सरकारले एक अर्ब २२ करोड ३२ लाख रूपैयाँ लगानी गरी दुई खण्डमा काम सुरु गरेको हो।
पहिलो खण्ड, भोजपुर–दिङ्ला–तीनतले १७.५ किलोमिटर सडक ५८ करोड ४० लाख रूपैयाँमा निर्माण भइरहेको छ।
यो सडक विसं २०८० मङ्सिरमा सम्झौता भएर सुरु भएको र २०८२ मङ्सिरमा सम्पन्न हुने लक्ष्य राखिएको छ।
भौतिक प्रगति हाल ४५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ।
दोस्रो खण्ड, तीनतले–दिङ्ला १६ किलोमिटर सडक ६३ करोड ९२ लाख रूपैयाँमा निर्माण भइरहेको छ।
यो खण्ड विसं २०८० पुसमा सम्झौता भएको र २०८२ पुसमा सम्पन्न गर्ने लक्ष्यमा छ।
दोस्रो खण्डको भौतिक प्रगति २० प्रतिशत रहेको छ र दुवै खण्डमा आस्फाल्ट प्रविधि प्रयोग हुने प्रमुख राजनराज रेड्डीले बताए।
सडकले सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भएकाले स्थानीयमा उत्साह बढेको छ।
कालोपत्रपछि कृषि उपजको बजारिकरण सजिलो हुने र वर्षायाममा अन्य जिल्ला घुमेर जानु पर्ने बाध्यता हट्ने स्थानीय निमा शेर्पाले बताए।
षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले सडक निर्माण गुणस्तरीय र समयमा सम्पन्न गर्न नगरको सक्रिय भूमिका रहेको बताए।
Post Views: 155