लोमान्थाङमा पक्की पुल निर्माण

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले वडा नं १ र २ जोड्ने छोर्तेनछोमा तीव्र गतिमा पुल निर्माण गरिरहेको छ।

गाउँपालिकाको बजेटअनुसार झोङ गुफा र निफुक गुम्बासँग जोडिने पक्की मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ।

पुल निर्माणका लागि माघ १० गते माछापुच्छ्रे इञ्जिनियरिङ प्राइभेट लिमिटेडसँग ७८ लाख २० हजार आठ सय ३६ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

आगामी माघ १० गतेसम्म पुल सम्पन्न गर्ने लक्ष्य राखेर तीव्र गतिमा काम भइरहेको गाउँपालिकाका सबइञ्जिनियर उदय तिमिल्सिनाले जानकारी दिए।

निर्माणाधीन पुलको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति २० प्रतिशत रहेको छ।

पुल आठ मिटर लम्बाइ र पाँच मिटर चौडाइको हुने छ। दुईतर्फी फाउण्डेसन वालसहित स्लाप ढलान अन्तिम चरणमा पुगेको छ।

पुल बनेपछि पर्यटकले छोसेर न्हेचुङस्थित मानव निर्मित गुफा सजिलै अवलोकन गर्न सक्नेछन्।

वर्षायाममा पनि सवारीसाधनले पुग्न सक्ने सुविधा उपलब्ध हुने गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताए।

पुलले गाउँपालिका केन्द्रबाट वडा नं १ र २ जोड्ने भएकाले स्थानीय नागरिकको आवतजावत सहज हुने विश्वास व्यक्त गरिएको छ।

लोमान्थाङ गाउँपालिका-१ र २ को छोसेर गाउँ नेपाल-चीन उत्तरी कोरलानाकाबाट १६ किमी दक्षिणमा पर्छ र यहाँ झोङ गुफा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *