जापानी ब्रान्ड सुजुकीले भारतमा उत्पादन गरेको पहिलो विद्युतीय एसयूभी “ईभिटारा” युरोपतर्फ पठाउन थालेको छ।
गुजरातको प्लान्टमा बनेका २,९०० युनिट १२ वटा युरोपेली देशमा बिक्रीका लागि निर्यात भएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट २६ मा गुजरातस्थित प्लान्टबाट यसको उत्पादन औपचारिक रूपमा शुभारम्भ गरेका थिए।
पहिलो लट बेलायत, जर्मनी, नर्वे, फ्रान्स, डेनमार्क, स्वीजरल्यान्ड, नेदरल्यान्ड, स्वीडेन, हंगेरी, आइसल्यान्ड, अस्ट्रिया र बेल्जियम पुग्नेछ।
मारुति सुजुकीको पहिलो विद्युतीय कारका रूपमा भारतमै बनेको ईभिटारा १०० भन्दा बढी देशमा बिक्री गर्ने योजना छ।
नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले यसलाई नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राखिसकेको छ, भारतीय बजारमा अक्टोबर–नोभेम्बरमा बिक्री सुरु भएसँगै नेपालमा पनि आउनेछ।
एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको ईभिटारामा ४९ र ६१ किलोवाट–आवर ब्याट्री विकल्प छन्, जसले एक चार्जमा करिब ५०० किलोमिटर रेन्ज दिने दाबी छ।
१०७, १२८ र १३५ किलोवाटको मोटर अप्सनसहित फ्रन्ट ह्वील ड्राइभ र अलग्रिप (अल ह्वील मोटर) भर्सन उपलब्ध हुने बताइएको छ।
यसमा फ्लोटिङ ड्युल स्क्रीन, ३६०° क्यामरा, एडास, प्यानारोमिक सनरुफ, अटो क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जिङ जस्ता सुविधा छन्।
सुजुकीले गुजरातमा लिथियम आयन ब्याट्री सेल उत्पादन सुरु गरेको छ, जसले विद्युतीय र हाइब्रिड मोडलहरूमा आवश्यक ब्याट्री आपूर्ति गर्नेछ।