१० वर्ष पुगे ‘एक एक पाइला’

स्वास्थ्य सेवामा सक्रिय गैरनाफामूलक संस्था ‘एक एक पाइला’ ले आफ्नो १० वर्षे सेवायात्रा विशेष कार्यक्रममार्फत स्मरण गरेको छ।

अगस्ट ३० मा सम्पन्न कार्यक्रममा संस्थाको उपलब्धि, प्रभाव र भविष्यप्रतिको संकल्प प्रस्तुत गरिएको थियो।

कार्यक्रममा संस्थाको यात्रालाई सम्झाउने स्मारिका पुस्तक विमोचन गरियो र “हाम्रा पाइलाहरू” नामक वृत्तचित्र प्रदर्शन गरिएको थियो।

यसमार्फत संस्थासँग संलग्न व्यक्ति, प्रदान गरिएका सेवा र लाभान्वित समुदायहरूको कथा देखाइएको थियो।

सन् २०१५ को भूकम्पपछि सुरु भएको सानो स्वास्थ्य अभियान अहिले नेपालभर परिचित संस्थामा परिणत भएको छ।

संस्थाले ३४ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य केन्द्र र अस्पताल स्थापना पनि गरेको छ।

आँखा, दन्त, मातृ स्वास्थ्य, हाडजोर्नी, रेडियोलोजी, क्षयरोगदेखि सामान्य स्वास्थ्य परामर्शसम्मका सेवा उपलब्ध गराउँदै आएको संस्थाले कोभिड–१९ महामारीताका विपन्न समुदायसम्म पुगेर हजारौँलाई जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गरेको थियो।

१०औँ वार्षिकोत्सव कार्यक्रममा विगतको योगदानलाई स्मरण गर्दै आगामी यात्राको संकल्प गरिएको थियो।

कार्यक्रममा संस्थासँग हिँडेका, समर्थन गरेका र यसबाट लाभान्वित भएका व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *