नाडा अटो शो २०२५ ले यस वर्ष ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
पाँच दिनमै १,४९,८८१ दर्शकले अवलोकन गरेका छन्, जसले आम जनतामा नयाँ प्रविधि र अटो शोप्रति चासो र जिज्ञासा उच्च रहेको देखाउँछ।
शोको पाँचौं दिनमा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी र कलाकार सन्दिप क्षेत्रीले प्रदर्शनी अवलोकन गर्नुभएको थियो।
नाडा अटो शोको अवसरमा हरेक दिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भइरहेको छ।
पाँचौं दिनमा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायात विषयमा अन्तरक्रिया भएको थियो।
त्यस्तै, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा “मेड इन नेपाल” विषयमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएशनका अध्यक्षका रूपमा यस उपलब्धिलाई शुभारम्भको रूपमा लिइएको छ।
यसले नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन आत्मविश्वास थपेको छ।
नाडा अटो शो अब केवल प्रदर्शनी नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको छ।