नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरी आगामी १७औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन औपचारिक अनुरोध गरेको छ।
उक्त अटो शो यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटी मण्डप परिसरमा आयोजना हुँदैछ।
भेटका क्रममा अध्यक्ष चौधरीले नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको यस अटो शोमा १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुने र ३० भन्दा बढी सवारीसाधनका ब्रान्डहरू प्रदर्शनीमा रहने जानकारी दिए।
यसका साथै, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, तथा पहिलोपटक नेपालमा प्रदर्शन हुने UNITREE रोबोट्स र Deepal eVTOL UAV जस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शनीको मुख्य आकर्षण हुने बताए।
अध्यक्ष चौधरीका अनुसार, यस अटो शोले नेपालको अटोमोबाइल क्षेत्रमा नवीनतम प्रविधि र विश्वस्तरीय अनुभवको परिचय गराउनेछ।
प्रधानमन्त्री ओलीले नाडाको निमन्त्रणा सहर्ष स्वीकार गर्दै अटोमोबाइल उद्योगको विकासका लागि यस्ता प्रदर्शनीहरू महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
भेटघाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको उपस्थिति थियो।