अत्तरिया–धनगढी मोहनापुल छ लेन सडकमा पर्ने दुईवटा पुल—मोहना र मनहरा—को निर्माण चार वर्षअघि सुरु भए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन।
महाकाली पुल आयोजना कार्यालयका अनुसार यी पुलहरू बजेट अभावका कारण रोकिएका हुन्।
२०७८ सालदेखि निर्माण सुरु गरिएका यी पुल सुरुमा निर्माण कम्पनीको ढिलाइले रोकिए, पछिल्लो समय आवश्यक बजेट नहुँदा निर्माण अधुरो रह्यो।
त्रिनगर भन्सार नाकासँगै पर्ने मोहना खोलामा पुरानो पुलसँगै नयाँ पुल बनाउने योजना थियो, तर हालसम्म केवल ५० प्रतिशत मात्र काम सकिएको छ।
२०७८ साल माघमा राइमाझी कन्ट्रक्सनसँग सम्झौता भई फागुनमा काम सुरु गरिएको थियो। सम्झौताअनुसार २०८० साल जेठसम्म काम सक्नुपर्ने थियो।
तर म्याद दुई पटक थप्दा पनि कम्पनीले केवल फाउण्डेशन र पाइलको काम मात्रै गरेको छ।
१३ करोड ३६ लाख रुपैयाँको सम्झौता गरिएको भए पनि हालसम्म ९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।
हाल दोस्रो पटक थपिएको म्याद २०८२ साल चैत २८ गतेसम्म छ।
इञ्जिनियर सन्तोष चन्दका अनुसार फाउण्डेशन र पाइलको काम सकिएको हो।
६ लेन सडक विस्तारसँगै पुरानो मोहना पुल साँघुरो र जीर्ण भएकाले नयाँ पुल आवश्यक भएको हो।
तर निर्माणमा ढिलाइ हुँदा भारतबाट आयात हुने मालबाहक सवारीसाधनहरू पुरानो पुल भएर आउँदा ट्राफिक जाम हुने गरेको छ।
यस्तै, मनहरा खोलाको पुलका लागि पनि २०७८ साल माघमै उच्चाकोटी–शनिदेव–साजेन्द्र जेभीसँग ८ करोड ५० लाखको सम्झौता गरिएको थियो।
२ वर्षमा सक्ने भनिएको काम अझै ५५ प्रतिशत मात्र सम्पन्न भएको छ।
इञ्जिनियर चन्दका अनुसार मनहरा पुलको पनि केवल फाउण्डेशन र पिलरको काम मात्र सकिएको छ।
दोस्रो पटक म्याद थपिएको भए पनि आगामी भदौमा सकिनेछ तर बजेट नपुगेका कारण चालु आर्थिक वर्षमै पुल सकिने सम्भावना छैन।
हालसम्म जेभीलाई ३ लाख रुपैयाँ भुक्तानी दिइएको छ भने चालु वर्षको डेढ करोड रुपैयाँ अझै भुक्तानी दिन बाँकी छ।
चालु आर्थिक वर्षमा यो पुलका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको भए पनि करिब १ करोडको मात्र काम हुने अनुमान छ।
इञ्जिनियर चन्द भन्छन्, “मनहरा पुल सक्न अझै ३ करोड रुपैयाँ बजेट अपुग छ। ठेकदार अर्को वर्ष भुक्तानी लिने सर्तमा काम गर्न माने मात्र यस वर्ष पुल सञ्चालन हुन सक्छ।”
मोहना पुलको लागि चालु वर्षमा १ करोड ५० लाख रुपैयाँ बजेट आएको छ।
इञ्जिनियर चन्दका अनुसार दुवै पुलमा अब स्ल्याब राख्ने काम मात्रै बाँकी छ र बजेट मिलेको खण्डमा यसै आर्थिक वर्षमा काम सक्न सकिन्छ।
अत्तरिया–धनगढी–मोहना पुल ६ लेन सडक आयोजनाको कार्यालय खारेज भएको पनि चार वर्ष भइसक्यो।
कार्यालय खारेज हुनु अघि नै यी पुलहरूको ठेक्का दिइएको भए पनि अहिलेसम्म निर्माण पूरा भएको छैन।
५ वर्षमा बन्यो सुनी खोलाको पुल
छ लेन सडकमै पर्ने गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको दक्षिणपट्टि रहेको सुनी खोलाको पुल बनाउन ५ वर्ष लाग्यो।
२०७७ साल कात्तिकमा राजेन्द्र निर्माण सेवाले ठेक्का लिएर ३ वर्षसम्म योजना अलपत्र पारेपछि मात्र पुल निर्माण अघि बढ्यो।
आयोजना कार्यालयले कारबाही प्रक्रिया थालेपछि मात्रै निर्माण कम्पनीले काम अघि बढाएको हो।
३ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको पुल हाल सञ्चालनमा आइसकेको छ, यद्यपि १० लाख रुपैयाँ अझै भुक्तानी दिन बाँकी छ।
पुल बनेपछि नयाँ पुललाई धनगढी–अत्तरिया र पुरानो पुललाई अत्तरिया–धनगढी एकतर्फी प्रयोगमा ल्याइएको छ।
तर, मनहरा पुल नबनेकाले ६ लेन सडकको बीचमा साँघुरो पुल जोडिनुपर्दा तीव्र गतिमा आएका सवारीहरू अचानक साँघुरो भागमा पर्न जाँदा दुर्घटनाको जोखिम बढेको छ।