६ वटा मुख्य राजमार्गका सडकखण्ड अवरुद्ध

पश्चिम नेपालका जिल्लामा शनिबारदेखि नै मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भइरहेको छ ।

सडक विभागका अनुसार हालसम्म ६ वटा मुख्य राजमार्ग तथा सडक खण्डमा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आइतबारसम्म देशभर ८ स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ८९ स्थानमा एकतर्फी सञ्चालन छन् ।

अरनिको, मेची, कोशी राजमार्गलगायतका सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

विभागले अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरे पनि निरन्तरको वर्षा र खोलाको बढ्दो बहावले काममा कठिनाइ भइरहेको जनाएको छ ।

आइतबार अरनिको राजमार्गअन्तर्गत दोलालघाट–खाडीचौर–कोदारी सडकअन्तर्गत सिन्धुपाल्चोकको जुरेमा बिहानै पहिरोले सडक अवरुद्ध भएको छ ।

यसैगरी मेची राजमार्गको गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोलामा सडक खण्डअन्तर्गत हेवा खोलामा पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

खोलाको बहाव घटेपछि मेशिन प्रयोग गरेर डाइभर्सन मर्मत गरिने जनाइएको छ ।

भेडेटार रवि राँके सडक धनकुटामा उपकरण तैनाथ गरी सडक खुलाउने प्रयास भएको जनाइएको छ ।

तानसेन–सिडी–कोरला सडक अन्तर्गत मुस्ताङको भेना गाउँमा लेदोसहितको पहिरो आएको र ब्याकहोइ मेशिन परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

यस्तै कोशी राजमार्गको तुम्लिङटार–खाँदबारी–किमाथांका सडक खण्डअन्तर्गत सङ्खुवासभाको देउरालीमा पनि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यहाँ पनि एक्स्काभेटर प्रयोग गरी बाटो खुलाउने काम भइरहेको छ ।

साथै शहिदमार्गको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङलुकुम सडक खण्डअन्तर्गत रोल्पामा पानी परिरहेको र लेदोसहितको माटो आएकाले पानी रोकिएपछि कार्य सञ्चालन गर्ने साथै लेदो पन्छाउन केही समय लाग्ने सडक विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *