मुग्लिन-पोखरा सडक: काम धेरै बाँकी

मुग्लिन-पोखरा सडकको अधिकांश क्षेत्र चिल्लो देखिन्छ। सामाजिक सञ्जालमा भिडियो र फोटो पनि त्यसरी नै सार्वजनिक भइरहेका छन्।

समग्रमा हेर्दा सडकको अवस्था राम्रो नै भए पनि सुरक्षाको दृष्टिले महत्वपूर्ण केही कामहरू भने भएका छैनन्।

मुग्लिन-पोखरा पूर्वी र पश्चिम गरेर दुई खण्डमा छुट्याएर चार लेनमा विस्तार हुँदैछ।

जसमध्ये पश्चिम खण्डको काम ५५ प्रतिशतमात्रै भएको छ भने पूर्वी खण्डका ८६ प्रतिशत भौतिक प्रगति भइसकेको छ।

४१.४५ किलोमिटर लामो पूर्वी खण्ड विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएर २०७८ बैशाख २ गतेदेखि निर्माण सुरु गरिएको थियो।

जसको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको हो। यो खण्डको कुल लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ।

पूर्वीखण्डको तेस्रोपटक थप भएको म्याद यही असार २९ गतेदेखि सकिएको छ।

यद्यपि केही फिनिसिङका काम बाँकी रहेकाले एकपटक म्याद थप गर्ने पूर्वी खण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी बताउँछन्।

उनका अनुसार ट्राफिक साइनहरु राख्न बाँकी छ। डिजाइन स्पिड प्रतिघण्टा ६० किलोमिटर रहेको उनले बताए।

सर्वसाधारणले सडक प्रयोग सुरु गरेकाले दुर्घटनाको जोखिम पनि बढेको छ। पूर्वी खण्ड तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *