धरान-चतरा सडकखण्डका तीन पुल अन्तिम चरणमा

मदन भण्डारी राजमार्गअन्तर्गत धरान-चतरा सडकखण्डमा निर्माण भइरहेका बाघ खोला, बगुवा खोला र ठकुरी खोलाका तीनवटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन्। तर सोही खण्डमा पर्ने रेल्वे पुलको निर्माण भने सुरु हुन सकेको छैन।

निर्माण कम्पनी सूर्य एण्ड सन्स कन्स्ट्रक्सनका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार ती तीनवटै पुल करिब ९५ प्रतिशतसम्म निर्माण भइसकेका छन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ मा निर्माण भइरहेको दुवै तर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ।

बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल ९५ प्रतिशत पूरा भएको छ भने ठकुरी खोलाको ३५ मिटर लामो पुलको निर्माण पनि ९० प्रतिशत सकिएको श्रेष्ठले जानकारी दिए।

तर रेल्वे पुल भने जङ्गल क्षेत्रभित्र पर्ने भएकाले क्लियरेन्स नपुगेको कारण अहिलेसम्म काम सुरु हुन नसकेको कम्पनीको भनाइ छ।

‘जङ्गल क्लियरेन्सको काम अफिसको जिम्मा भएकाले अनुमति पाएलगत्तै काम सुरु हुन्छ,’ इञ्जिनियर श्रेष्ठले भने।

२०७९ साल जेठमा करिब २१ करोड ७८ लाख रुपैयाँमा चारवटा पुल निर्माणको ठेक्का पाएको कम्पनीले तीन पुलको फिनिसिङको काम अन्तिम चरणमा पुर्‍याएको छ।

हाल छेउछाउका रुख हटाउने कामसँगै बाँकी काम सम्पन्न गरिने जनाइएको छ।

स्थानीयवासीका अनुसार यी खोलामा पुल नहुँदा बर्खायाममा यात्रा निकै कठिन हुने गरेको थियो।

अघिल्ला वर्षहरूमा मानवीय क्षतिसमेत भएको स्मरण गर्दै अब पुल निर्माणपछि आवागमन सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

धरान-चतरा सडकखण्ड भोजपुर, खोटाङ, उदयपुर लगायतका जिल्लाका बासिन्दाहरूका लागि धरानको बजार, स्वास्थ्य, शिक्षा र कृषि उपज बिक्रिका लागि महत्त्वपूर्ण मार्ग हो।

पुल निर्माणसँगै स्थानीयले वर्षौंदेखिको समस्या अन्त्य हुने विश्वास लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *