क्याटलको नयाँ ब्याट्री लाइन

क्याटलले हालै चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र सीटीपी२.० (सेल–टु–प्याक) प्रविधियुक्त दुईवटा उच्चस्तरीय ब्याट्री प्याक उत्पादन लाइनहरू औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ ।

यससँगै क्याटलको चोंगकिंगमा पहिलो प्रडक्सन बेस स्थापना भएको छ भने ‘फ्याक्ट्री–इन–फ्याक्ट्री’ (एफआईएफ) सहकार्य मोडेल प्रयोग गरिएको पनि यो नै पहिलो अवसर हो ।

यस ‘फ्याक्ट्री–इन–फ्याक्ट्री’ मोडेलले मुख्य कम्पोनेन्ट सप्लायरहरूलाई गाडी उत्पादन प्लान्टभित्र सिधै जोड्ने काम गर्दछ ।

सेरेसका अनुसार, यस प्रणालीले २० मिनेटभन्दा कम समयमा कम्पनी डिरेक्टिभअनुसार उत्पादन लाइनमा एडजस्ट गर्न सक्छ र हजारौँ कम्पोनेन्टहरू दैनिकरूपमा आपूर्ति भई सोही दिनमै उत्पादन प्रक्रियामा समावेश समेत गर्न सकिन्छ ।

क्याटलका अध्यक्ष तथा सीईओ डा रोबिन जेङका अनुसार हाल सुरु गरिएको उत्पादन लाइन क्याटलको हालसम्मकै सबैभन्दा अत्याधुनिक, स्मार्ट र डिजिटल उत्पादन लाइन हो ।

सेरेस र क्याटलबीचको स्ट्राटेजिक पार्टनरसिप सन् २०२२ को अगस्टमा भएको सम्झौताबाट सुरु भएको हो, जुन समयसँगै अझ बलियो हुँदै आएको जनाइएको छ ।

उक्त सम्झौताअनुसार आइटो ब्रान्डका सबै सवारीहरूमा आगामी पाँच वर्षसम्म केवल क्याटलको पावर ब्याट्री प्रयोग गरिनेछ र नयाँ आइटो मोडेलहरूमा क्याटलको किलिन ब्याट्री पूर्णरूपमा समावेश गरिनेछ ।

आइटो ब्रान्ड सेरेस र हुवाएको संयुक्त परियोजना हो, यद्यपि यो औपचारिकरूपमा गरिएको संयुक्त लगानी भने होइन ।

सन् २०२४ को जुलाईमा सेरेसले हुवाएसँग आइटोको ट्रेडमार्क र प्याटेन्टहरू २५ लाख युआन (अन्दाजी ३४.४ मिलियन अमेरिकी डलर) मा खरिद गरेको थियो ।

हुवाए अझै पनि प्रमुख पार्टपुर्जा र सफ्टवेयर आपूर्तिकर्ताको रूपमा संलग्न छ । साथै, आफ्नै हिमा सेल्स नेटवर्कमार्फत आइटो ब्रान्डका सवारीहरू बिक्री गर्दछ ।

आइटोले आफूलाई नयाँ पुस्ताको लक्जरी सवारी ब्रान्डको रूपमा प्रस्तुत गरेको छ । हालसम्म सात लाखभन्दा बढी आइटो गाडीहरू बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्री आइटोको प्रमुख उत्पादन केन्द्र हो । क्याटलले अझै पनि पावर ब्याट्री बजारमा बलियो पकड कायम राखेको छ ।

चीनको अटोमोटिभ पावर ब्याट्री इन्डस्ट्री इनोभेसन अलायन्सका अनुसार यो वर्षको जनवरीदेखि मे महिनासम्म चीनमा जम्मा २४१ दशमलव चार जिडब्लुएच पावर ब्याट्री स्थापना भएको थियो, जुन गत वर्षको तुलनामा ५० दशमलव चार प्रतिशत बढी हो ।

यो अवधिमा क्याटलको योगदान १०३ दशमलव २० जिडब्लूएच थियो, जसले बजारको ४२ दशमलव ९० प्रतिशत हिस्सा ओगटे पनि गत वर्षको तुलनामा भने तीन दशमलव ८३ प्रतिशत अंकले घटेको छ ।

पावर ब्याट्रीका अलावा क्याटल र सेरेसबीचको सहकार्य जिरो–कार्बन लक्ष्यतर्फ पनि विस्तार भएको छ ।

सन् २०२५ को अप्रिलमा दुवै कम्पनीले सेरेस सुपर फ्याक्ट्रीमा ५० एमडब्लुएच क्षमताको सौर्य ऊर्जा परियोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जडान गरेका थिए, जसले कारखानाका लागि पनि कोर ग्रिन इनर्जीको आपूर्ति गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *