रुपन्देहीको बेलबास बेथरी सडक

रुपन्देहीको बेलबास–बेथरी सडक निर्माण सुरु भएको ९ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।

बुटवल उपमहानगरपालिकाको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालमा ठेक्का सम्झौता भएको थियो ।

तीन वटा प्याकेजमा ठेक्का लागेकोमध्ये दक्षिणतर्फका दुई वटा प्याकेजको काम यसअघि नै सम्पन्न भइसकेको छ ।

बुटवलतर्फको एउटा प्याकेजको निर्माण सम्पन्न नहुँदा यात्रु तथा स्थानीयले सास्ती पाइरहेका छन् ।

पहिलो प्याकेजको साढे ८ किलोमिटर सडकमध्ये २ किलोमिटरमा २ वर्षदेखि काम हुन नसक्दा सडक अलपत्र परेको हो ।

बुटवल उपमहानगरपालिका–११ का वडा सदस्य नहकुल शाही चार लेन सडकको ठेक्का सम्झौता र शिलान्यास हुँदा उत्साहित थिए ।

‘तीन वर्षमा घर अगाडीको सडक सुन्दर र फराकिलो होला भन्ने थियो, यो ठाउँको मुहार फेरिएला भनेर सोचेका थियौं’ उनले भने, ‘९ वर्षसम्म यस्तै अस्तव्यस्त र अलपत्र देखिरहनुपरेको छ ।’

वडा सदस्य शाहीले ठेकदार तथा सरकारलाई सडक निर्माणको काम छिटो सक्न पटक पटक दबाब दिएको सुनाए । ‘हामीले दबाब दिनसम्म दियौं ।

इन्जिनियरलाई समातेर ल्याएर सम्झाइयो, गर्नसम्म गरियो अहिले हार खानुपरेको छ’ उनले भने, ‘कि ठेकदारलाई काम गराउन पर्‍यो, नत्र ठेक्का तोड्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

सुरुमा यो सडक संघीय सरकार अन्तर्गतको डिभिजन सडक कार्यालय बुटवलले हेरेको थियो ।

मुलुक संघीय संरचनामा गएपछि यो आयोजना संघले प्रदेशलाई हस्तान्तरण गर्‍यो । प्रदेश मातहतमा आएपछि कपिलवस्तु डिभिजन कार्यालयले यो सडक हेरेको थियो ।

पछि कपिलवस्तु डिभिजन संघ सरकार मातहत गयो । २०७८ मंसिरबाट सडक पूर्वाधार कार्यालय कपिलवस्तुले सो सडकको जिम्मेवारी लिएको थियो । पछि सडक पूर्वाधार कार्यालय रुपन्देही मातहतमा आयो ।

प्रदेश सरकार अन्तर्गतको सडक पूर्वाधार कार्यालयले योजना कार्यान्वयन गरेपछि बजेट भने संघीय सरकारको सशर्त अनुदान अन्तर्गतको विनियोजन भएको हो ।

पछिल्लो समय यो आयोजनामा संघ सरकारले बजेट विनियोजन नगरेकाले काम अघि बढ्न नसकेको सडक पूर्वाधार कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण पण्डितले बताए ।

‘हाम्रो मातहत योजना आएपछि सुरुको एक वर्ष बजेट राम्रै थियो । तीन चार करोड विनियोजन हुँदा केही काम भएको थियो ।

अर्को वर्ष ५० लाख र त्यसपछि २०८०/०८१ मा २० लाख मात्र विनियोजन भयो’ उनले भने, ‘बजेट कम देखेपछि निर्माण कम्पनीले काम गर्ने इच्छा नै गरेन । चालु आर्थिक वर्ष २०८१/०८२ मा त यो शीर्षमा बजेट परेको छैन ।’

सडक अन्तर्गत अब साढे २ किलोमिटर कालोपत्रे बाँकी छ । त्यसबाहेक केही ठाउँमा साइकल लेन र पैदल मार्ग बनाउन बाँकी छ । निर्माण कम्पनीले २ करोड भन्दा बढी भुक्तानी पाउन बाँकी छ ।

सडक विस्तारको काम सम्पन्न गर्न १७ करोड रुपैयाँ आवश्यक पर्ने कार्यालयका सूचना पण्डिलले बताए । सडक योजनाको हालसम्म ६६ देखि ७० प्रतिशत मात्र प्रगति भएको छ ।

बेलबास–बेथरी सडकको यो खण्डको निर्माणका लागि बज्रगुरु कान्छाराम जेभीले ठेक्का लिएको हो । २ वर्षदेखि योजनामा बजेट विनियोजन नगरेपछि आफूले काम गर्न नसकेको निर्माण कम्पनीले बताउँदै आएको छ ।

सडक पूर्वाधार कार्यालय रुपन्देहीका प्रमुख लालु गिरीले बजेट विनियोजन नभएपनि निर्माण कम्पनीले काम गर्ने हो भने भुक्तानी पाउने दाबी गरे ।

‘सडक योजनामा ठेकदारको कम्जोरी छ । भटाभट काम गर्ने हो भने बजेट छुट्याउन हामी पनि संघीय सरकारलाई लबिङ गथ्र्यौं ।

बजेट छुट्याएको अवस्थामा पनि ठेक्दारले काममा ढिलाइ गरेको थियो’ उनले भने, ‘काम नदेखेपछि संघीय सरकारले बजेट नदिएको होला । न हामीले ठेकदारलाई काम गर भन्न सकेका छौं, न सरकारसँग बजेट माग गर्ने मिलेको छ ।’

सडकको काम नभएपछि निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोड्न सडक पूर्वाधार कार्यालयले प्रक्रिया अघि बढाएको छ ।

तर अहिले नै निर्माण कम्पनीले काम सुरु गर्ने हो भने ठेक्का नतोडिने कार्यालय प्रमुख गिरिले बताए ।

‘ठेक्का तोड्ने प्रक्रियाका लागि पेस्की जफलत गर्न बैंकलाई चिठी पत्र भइसकेको छ’ उनले भने, ‘यो बेला फटाफट ठेक्दारले काम गर्ने हो भने ठेक्का रोक्न पर्दैन ।’

चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएपनि आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघ सरकारबाट बजेट विनियोजन भएकाले काम अघि बढाए भुक्तानी नरोकिने गिरीको भनाइ छ ।

बीचमा नहर र दुवैतर्फ सात–सात मिटरको डबल लेन सडक बन्नेछ । सडकका दुवै किनारमा दुई मिटरको साइकल लेन र त्यसपछि १.५ मिटरको फुटपाथ हुनेछ ।

दक्षिणतर्फको एउटा साढे ८ किलोमिटर र अर्को ४ किलोमिटर सडक गरी दुई वटा प्याकेजको ठेक्का रमण कन्स्ट्रक्सनले पाएको थियो ।

रमण कन्ट्रक्सनले पाएको ठेक्का सम्पन्न गरिसकेको छ । बज्रगुरुले पाएको साढे ८ किलोमिटरको काम भने ५ पटकसम्म म्याद थपिँदा पनि पुरा हुन सकेको छैन ।

बुटवल उपमहानगरपालिकाको बेलबासबाट सुरु भएको चार लेन सडक मोतीपुर, शुद्धोधन गाउँपालिकाको बेतानी, सियारी गाउँपालिकाको अमुवा हुँदै मायादेवी गाउँपालिकाको बेथरीसम्म पुग्छ ।

बेथरी बजार भैरहवा–लुम्बिनी सडक खण्डमा पर्छ । बुटवलबाट लुम्बिनी जान सहज हुने गरी पर्यटकीय मार्गको परिकल्पनाअनुसार यो सडक निर्माण अघि बढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *