दुई वर्षमा सक्नुपर्ने सडकको काम चार वर्षमा ३५ प्रतिशत

निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा स्तरोन्नति गरिसक्नु पर्ने सडक चार वर्ष बितिसक्दा करिब ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

घोराही–मसिना–मर्पेस–बोजपोखरा हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने ग्रामीण सडक निर्माण व्यवसायीको लापरवाहीका कारण स्तरोन्नति हुन सकेको छैन ।

सो सडकअन्तर्गत घोराही उपमहानगरपालिका–१८ सिस्ने खोला पुलदेखि बंगलाचुली गाउँपालिका–२ धिमधिमे लेकसम्मको करिब ११ किलोमिटर सडक स्तरोन्नति दुई वर्षभित्र सक्ने गरी २०७८ वैशाखमा स्वच्छन्द वर्डवाइड जेभी काठमाडौंसँग १२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार अहिलेसम्म पाँच करोड बराबर खर्च भएको छ ।

सम्झौता अनुसार २०८० वैशाख मसान्तभित्र सक्नुपर्ने काम अहिलेसम्म आधा पनि हुन सकेको छैन ।

जसले गर्दा उक्त सडक भएर स्वर्गद्वारी दर्शन गर्न जाने भक्तजनसँगै बंगलाचुलीवासीलाई घोराही आउन समस्या हुने गरेको छ ।

सडक पूर्वाधार विकास कार्यालय दाङका अनुसार निर्माण कम्पनीले अहिलेसम्म करिब ३० देखि ३५ प्रतिशत सडक स्तरोन्नतिको काम गरेको छ ।

उक्त सडकअन्तर्गत मसिनादेखि पाखापानीसम्मको केही स्थानमा साँघुरो सडक विस्तार गर्नेदेखि नाला निर्माण, कल्भर्ट, ह्युमपाइप राख्ने, पहिरोको जोखिमयुक्त ठाउँमा वाल लगाउनेदेखि जाली राख्ने काम गरेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिष अर्यालले जानकारी दिए ।

ठेक्का सम्झौताअनुसार २०८० वैशाखसम्म सडक स्तरोन्नतिको काम नसकिएपछि कार्यालयले पहिलो पटक २०८१ फागुनसम्मका लागि म्याद थप गरेको थियो ।

उक्त समयमा निर्माण व्यवसायीले काम नगरेर सडक अलपत्र पारेको कार्यालय प्रमुख अर्याल बताउँछन् ।

समयमै काम सम्पन्न गर्न कार्यालयले पटक–पटक ताकेता गर्दा निर्माण व्यवसायीको बेवास्ताका कारण सडक निर्माणमा ढिलाइ भइरहेको उनले बताए ।

अर्यालले भने, ‘निर्माण व्यवसायीलाई काम गर्न भन्दा भन्दै हामी आजित भइसक्यौं तर, काम हुन सकेको छैन । ठेक्का तोडौं भने बाटो झन समस्यामा फस्छ कि भन्ने लागेको छ ।’

उनका अनुसार म्याद थप गर्दा पनि सडकको काम नहुने अवस्था देखिएपछि अहिले म्याद थप भएको छैन ।

निर्माणको जिम्मा पाएको स्वच्छन्द वर्डवाइड जेभीले काम नगरेर पेटी ठेकेदारका रूपमा जेएनबी कन्स्ट्रक्सनलाई काम जिम्मा दिएको थियो ।

उक्त निर्माण कम्पनीले सडक निर्माणमा ढिलाइ गरेकै कारण अहिलेको अवस्था सिर्जना भएको भन्दै स्वच्छन्द वर्डवाइड जेभीले म्याद थप भए आफैं काम गर्ने बताएको अर्याल बताउँछन् ।

उनका अनुसार निर्माण कम्पनीले म्याद थपका लागि सडक पूर्वाधार कार्यालयमा निवेदन दिएको छ ।

सम्झौता मितिमा सडक स्तरोन्नतिको काम नसकिएपछि स्वच्छन्द वर्डवाइड जेभीले म्याद थपका लागि निवेदन दिएपनि म्याद थप्ने पक्षमा नरहेको अर्याल बताउँछन् ।

खरिद ऐनको १४औं संशोधन अनुसारको म्याद थपका लागि निर्माण व्यवसायीले आग्रह गरे पनि निर्माण व्यवसायीकै तर्फबाट ढिलाइ भएकाले अहिलेसम्म म्याद थपका प्रक्रिया अघि बढाइएको छैन ।

स्तरोन्नतिमा ढिलाइ हुँदा वर्षायाममा पहिरोसँगै खाल्डाखुल्डीका कारण सडक अवरुद्ध हुने भएकाले स्थानीयलाई घोराही बजार आउन, तीर्थयात्रीलाई प्युठानको स्वर्गद्वारी तथा स्युजामा रहेको उजा भगवतीको मन्दिर जान समस्या हुने गरेको बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी बलदेव मल्ल बताउँछन् ।

‘सडकको अवस्था विजोग छ, वर्षाको पानीका सडकमै बग्दा सडकको कतिपय ठाउँमा बनाएको पक्की नालासमेत भत्किएका छन्’, मल्लले भने, ‘तर निर्माण व्यवसायीले बनाएको पक्की नालाबाट पानी बग्ने व्यवस्थापन समेत गर्न सकेको छैन ।’

वर्षा हुनु भन्दा पहिले नाला सफा गरेर सडकको पानी नालामा बग्ने अवस्था बनाउन सकेको भए नालासँगै बाटो संरक्षण हुने, स्थानीयलाई हिडडुल गर्न सहज हुने मल्ल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *