यमनका हुथी विद्रोहीहरूले गरेको आक्रमणपछि लाल सागरमा एउटा कार्गो जहाज डुबेको युरोपेली नौसैनिक मिसनले जानकारी दिएको छ । यस आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ६ जना चालक दलका सदस्यको उद्धार गरिएको छ।
बेलायतको सामुद्रिक व्यापार सञ्चालन (यूकेएमटीओ) एजेन्सीका अनुसार लाइबेरियाको ध्वजावाहक तथा ग्रीसद्वारा सञ्चालित ‘इटरनिटी सी’ नामक मालवाहक जहाज सोमबार सानो डुङ्गाबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेडबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। आक्रमणबाट जहाजको इन्जिनमा समस्या आएको थियो। जहाजमा चालक दलका २५ जना सदस्य थिए।
इरान-समर्थित हुथीहरूले ‘इटरनिटी सी’ इजरायलतर्फ गइरहेकोले आफूहरूले आक्रमण गरेको बताएका छन् । उनीहरूले केही चालक दलका सदस्यहरूलाई ‘सुरक्षित स्थान’ मा लगेको दाबी गरेका छन्।
यमनस्थित अमेरिकी दूतावासले पनि हुथीहरूले ‘चालक दलका सदस्यहरूलाई अपहरण गरेको’ बताएको छ र उनीहरूको तत्काल रिहाइको माग गरेको छ।
फिलिपिन्सका अधिकारीहरूका अनुसार जहाजका २१ जना चालक दलका सदस्य फिलिपिन्सका नागरिक थिए। तीमध्ये अर्का एक रूसी नागरिक थिए, जो आक्रमणमा गम्भीर घाइते भई खुट्टा गुमाएका छन्।
यो एक हप्ताभित्र हुथीहरूले डुबाएको दोस्रो जहाज हो। आइतबार पनि हुथी समूहले अर्को लाइबेरियाली ध्वजावाहक तथा ग्रीसद्वारा सञ्चालित कार्गो जहाज ‘म्याजिक सीज’ मा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो।
हुथीहरूले मंगलबार जारी गरेको भिडियो फुटेजमा हतियारधारी व्यक्तिहरू जहाजमा चढेको र शृङ्खलाबद्ध विस्फोट गराएको देखाइएको छ, जसका कारण जहाज डुबेको थियो।
‘म्याजिक सीज’ का सबै २२ जना चालक दलका सदस्यलाई नजिकै रहेको एक व्यापारिक जहाजले सुरक्षित रूपमा उद्धार गरेको थियो।
नोभेम्बर २०२३ देखि हुथीहरूले लाल सागर र एडनको खाडीमा करिब ७० व्यापारिक जहाजहरूलाई क्षेप्यास्त्र, ड्रोन र सानो डुङ्गाबाट आक्रमण गरेका छन्। उनीहरूले अहिलेसम्म चारवटा जहाज डुबाएका छन् भने एउटा कब्जा गरेका छन् ।
यी आक्रमणहरूमा हालसम्म कम्तीमा सात जना चालक दलका सदस्यको मृत्यु भइसकेको छ ।