कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन ३९ अर्ब चाहिने

अत्यधिक ट्राफिक जाम हुने कोटेश्वर चोकमा फ्लाई ओभर र सुरुङमार्ग निर्माण गर्न ३९ अर्ब लगानी चाहिने प्रारम्भिक अनुमान गरिएको छ ।

जापानको ऋण सहयोगमा कोटेश्वर चोकमा दुई फ्लाई ओभर र एक हाफकट सुरुङमार्ग (केही हिस्सा जमिनभित्र र केही हिस्सा जमिनबाहिर हुने गरी बनाइने सुरुङ) बनाउने तयारी छ ।

त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले गरेको ‘पूर्वतयारी सर्वेक्षण’ले जग्गा प्राप्तिसहित सोबराबरको लगानी चाहिने देखाएको हो ।

अहिले परियोजना निर्माणका लागि जाइकासँग सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको सडक विभागका प्रवक्ता इ. प्रभातकुमार झाले जानकारी दिए ।

जग्गा प्राप्ति र केही चालू खर्चबाहेकको रकम जाइकाले सहुलियत ब्याजमा दिने तयारी गरेको छ ।

सम्झौता हुन लागेको ऋण रकम नखुलाइए पनि जाइकाले ३० अर्ब रुपैयाँभन्दा बढी ऋण दिने स्रोतको भनाइ छ ।

जाइकासँग ऋण सम्झौता भएपछि सडक विभागले डिजाइन परामर्शदाता छनोट गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनेछ ।

डिपिआर बनेपछि परियोजनाअन्तर्गत बन्ने संरचनाहरू टुंगो लाग्नेछन् । त्यसपछि परियोजनाको निर्माण कार्य पनि अघि बढाइनेछ ।

अहिले काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ट्राफिक जाम हुने ठाउँमध्ये कोटेश्वर चोक पनि अग्रस्थानमा आउँछ । यो उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको संगमस्थल पनि हो ।

काठमाडौंबाट अरनिको राजमार्ग, बिपी राजमार्गसहित पूर्वी नेपाल आवतजावत गर्ने सवारीसाधन यहीँबाट बाहिरी–भित्रिनुपर्छ । त्यसले गर्दा त्यहाँ अत्यधिक मात्रामा ट्राफिक जाम हुने गर्छ ।

सोही कारण ट्राफिक जामलाई न्यूनीकरण गर्न कोटेश्वरमा दुई फ्लाई ओभर र एक हाफकट सुरुङमार्ग बनाउने प्रस्ताव जाइकाको ‘पूर्वतयारी सर्वेक्षण’ प्रतिवेदनले गरेको छ ।

यद्यपि, यसबारे अन्तिम टुंगो भने डिपिआरमार्फत नै लाग्ने प्रवक्ता इ. झाले बताए ।

जाइकाले बुझाएको पूर्वतयारी सर्वेक्षणअनुसार मनोहराबाट त्रिुभवन अन्तर्राष्ट्रिय एयरपोर्टसम्म फ्लाई ओभर बनाउने प्रस्ताव गरिएको छ । एयरपोर्ट विन्दुमा भने ‘हाफकट टनेल’ गरिएको छ ।

विशेष गरी खाली ठाउँमा यस्तो टनेल बनाइन्छ । सहरी क्षेत्रमा यो प्रविधि उपयुक्त मानिन्छ । एयरपोर्टको धावनमार्गअघि एप्रोच लाइट राखिएका जमिनमुनि सुरुङमार्ग बनाउने प्रस्ताव गरिएको छ ।

त्यहाँबाट तिनकुनेको बागमती पुलसम्म पुन: अर्काे फ्लाई ओभर नै बनाउने प्रस्ताव गरिएको छ । अहिले कोटेश्वर चोकमा रहेका अधिकांश संरचना भने यथास्थितिमा रहने प्रस्ताव गरिएको छ ।

संरचनाको वास्तविक पारूप भने जाइकासँग ऋण सम्झौता भएपछि छनोट हुने डिजाइन परामर्शदाताले बनाउने प्रवक्ता इ. झाले बताए ।

आगामी आवमा जाइकासँग ऋण सम्झौता हुने बताइएको छ । यद्यपि, परियोजनाको निर्माण कार्य कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा अहिले नै टुंगो लागेको छैन ।

जाइकासँग ऋण सम्झौता भएपछि यसबारे टुंगो लाग्ने बताइएको छ ।

‘ऋण सम्झौता हुन लाग्ने समय, परामर्शदाताले अध्ययन गर्न लाग्ने समय, डिपिआर बनाउन लाग्ने समय, ठेक्कामा लाग्ने समयले निर्माण कहिले सुरु गर्ने भन्ने कुरा निक्र्याेल हुन्छ,’ प्रवक्ता झाले भने, ‘अहिले नै यसबारे भन्न सक्ने अवस्था छैन ।’

द्विविधामा विभाग
यद्यपि, लागत अनुमान महँगो देखिएको भन्दै सडक विभाग भने परियोजना अघि बढाउनेमा द्विविधामा पनि परेको छ । विभगाका अधिकारीले ३९ अर्ब रुपैयाँ लागत अनुमान महँगो नै भएको बताउँछन् ।

सोही कारण केही इन्जिनियरहरू यो परियोजना बनाउन हतार गर्न नहुने पक्षमा पनि छन् ।

‘यो लागत अनुमान धेरै नै भयो । यद्यपि, जापानसँग ऋण सम्झौता गर्ने तयारी अघि बढेको छ,’ एक अधिकारीले भने, ‘तर, यो परियोजना बनाउन हतार गर्न हुँदैन ।

योसँगै जोडिने लिंक रोडमा पनि आधुनिक पूर्वाधार बनाउने विषयमा ग्यारेन्टी गरेर मात्रै यसलाई अघि बढाउनुपर्छ ।’

कोटेश्वरमा सुरुङ तथा फ्लाई ओभर बनाउँदा बानेश्वर चोक, जडीबुटी तथा कौशलटार, सातदोबाटोतर्फ सवारी चाप बढ्ने स्रोतले बतायो । त्यो अवस्था त्यस क्षेत्रमा पनि आवश्यक पूर्वाधार बनाउने ग्यारेन्टी गर्नुपर्ने उनीहरूको माग छ ।

‘अहिले ग्वार्काेमा फ्लाई ओभर बन्यो । त्यहाँ ट्राफिक जाम हुन छाड्यो ।

तर त्यहाँको सवारी चाप अहिले सातदोबाटो र बालकुमारी तथा कोटेश्वरमा सर्‍यो,’ स्रोतले भने, ‘इन्जिनियरिङ रूपमा भन्नुपर्दा सडकको समग्र लिंकलाई सुधार गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *