सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ बुम्लिंगटार जोड्ने सङ्खुवा खोलामाथि बेलिब्रिज जडान गरिएको छ ।

सिलिचोङ गाउँपालिकाले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी आफ्नै बजेटबाट निर्माण सम्पन्न गरेको सो पुलको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले उद्घाटन गरे ।

करिब रु चार करोड ३९ लाखको लागतमा ३९ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो।

यसअगाडि स्थानीयवासी काठ र बाँसको फड्के प्रयोग गरी जोखिम मोलेर खोला तर्दै आएका थिए ।

अहिले पुल बनेसँगै सुरक्षित र भरपर्दो आवागमनको सुविधा पुगेको अध्यक्ष मेवाहाङले बताए ।

पुलसँगै सडकको दायाँबायाँ ग्याविन तारजाली भर्ने र ढुङ्गा ओछ्याउने कामसमेत सम्पन्न भइसकेको छ ।

पुल निर्माणपछि मांतेवा, याफू र ताम्कु गाउँका करिब तीन हजारभन्दा बढी बासिन्दालाई खाँदबारी सदरमुकाम आवतजावत गर्न सहज भएको छ ।

छिमेकी बुम्लिंगटार क्षेत्रका स्थानीयवासीलाई सङ्खुवासभातर्फको यात्रा थप सहज र सुरक्षित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *