नाइमा मोबिलिटी र नाडा अटो शो दुवैमा देखिनेछन् यी कम्पनीहरु

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ र ‘नाडा अटो शो’ नजिकिएको छ ।

साउन २१ बाट २५ गतेसम्म नाइमा नेपाल मोबिलिटी एक्स्पो हुनेछ । भदौ ३ गतेबाट ८ गतेसम्म नाडा अटो शो हुनेछ । दुवै शो भृकुटी मण्डपमा हुने छन् ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) दुवै संस्था आफूले आयोजना गर्ने अटो शो सफल बनाउन तयारीमा जुटेका छन् ।

नाइमाले आयोजना गर्ने शोमा चारपाँग्रे, दुई पाँग्रे र कमर्सियल गाडीका स्टलहरु रहनेछन् । नाडा अटो शोमा बिगतमा जस्तै चारपाँग्रे, दुई पाँग्रे, कमर्सियलसहित कम्पोनेन्टका स्टलहरु पनि रहनेछन् ।

आयोजकका अनुसार कार्यक्रमको शैली फरक भएपनि दुवै शो एउटै प्रकृतिका हुनेछन् ।

नाइमाले आयोजना गरेको शोमा स्टल राख्नेहरु प्रायले नाडाले आयोजना गरेको शोमा स्टल राख्ने छैनन् भने नाडा शोमा स्टल राख्नेहरु नाइमा शोमा देखिने छैनन् ।

तर केही कम्पनीले भने दुवै संस्थालाई बराबर प्राथमिकतामा राख्दै दुवै शोका लागि स्टल बुकिङ गरेका छन् ।

विद्युतीय गाडीमा नेपालमा लोकप्रिय स्थान बनाउन सफल बिवाइडीले दुवै अटो शोमा स्टल बुकिङ गरेको छ ।

दुई पाँग्रेतर्फ रोयल इन्फिल्ड पनि दुवै अटो शोमा अवलोकन गर्न सकिनेछ ।

कमर्सियल गाडीतर्फ कामा इभी र डिएफएसके इभीले पनि दुवै अटो शोमा स्टल राख्ने भएका छन् ।

दुवै शोलाई बराबर प्राथमिकतामा राखेर स्टल राख्दा राम्रो सन्देश जाने र दुवै संस्थासँग सुमधुर सम्बन्ध पनि कायम गर्ने रणनीतिमा यी कम्पनीहरु रहेको मान्न सकिन्छ ।

नाडा र नाइमाले छुट्टाछुट्टै शो आयोजना नगरी एउटै अटो शो गर्नुपर्छ भन्ने आवाज पनि धेरैले उठाइरहेका छन् । यद्यपि यो प्रयास यो वर्ष सम्भव हुनेछैन ।

नाडा अटो शो नाडाले वर्षेनी आयोजना गर्दै आइरहेको छ । नाडाले यस पटक १७औं संस्करणको अटो शो आयोजना गर्दैछ । हालै गठन भएको नाइमाले पहिलो पटक शो आयोजना गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *