सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बढीभन्दा बढी वायुसेवा आकर्षित गर्न उदार नीति लिने तयारी गरेको छ ।
यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयले ‘हवाई नीति २०८२’ को प्रारम्भिक मस्यौदा तयार पारेको छ ।
मस्यौदा अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘फिफ्थ फ्रिडम ट्राफिक राइट्स’ दिने उल्लेख छ ।
यस अधिकार अनुसार कुनै दोस्रो मुलुकको एयरलाइन्सले यी विमानस्थलबाट यात्रु बोकेर तेस्रो मुलुकमा लैजान पाउँछन् ।
यसबाट यात्रुले बढी विकल्प पाउने हुँदा यात्रु संख्या बढ्ने र उडान थपिने अपेक्षा छ ।
मन्त्रालयले नीतिको प्रारम्भिक मस्यौदा छलफल प्रयोजनका लागि तयार पारेको जनाएको छ ।
अहिले नेपालमा हवाई नीति २०६३ कार्यान्वयन छ । नयाँ नीतिले यसलाई विस्थापित गर्ने छ ।
मस्यौदा अनुसार खुला आकाश नीति क्रमश: आत्मसात गर्दै पारस्परिकताका आधारमा थप द्विपक्षीय र बहुपक्षीय हवाई सेवा सम्झौता गर्ने उल्लेख छ ।
विद्यमान सम्झौतामा पुनरावलोकन गरिने भएको छ । अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली कम्पनीको क्षमता र सेवा स्तरका आधारमा न्यायोचित हवाई सेवा सम्झौता बमोजिम पारदर्शी उडान संख्या र रुट बाँडफाँट गरिने समेत नीतिमा छ ।
‘थर्ड पार्टी कोड सेयर’ लगायत उदार नीतिसमेत प्रोत्साहन गर्ने मस्यौदामा छ ।
नयाँ हवाई सेवा सम्झौतामा समेत यस्तै नीति अवलम्बन गरिने छ । गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालन, व्यवस्थापन र प्रवर्द्धनमा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्ने नीति पनि छ ।