सिद्धबाबा खण्डको सकस

असार २०७२ मा बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा लुम्बिनी मेडिकल कलेज पाल्पाका डा. तरुणदीप सिंह कोचर र उनकी श्रीमती डा. यशोदा चढेको गाडी पहिरोले पुरिँदा दुवैजनाको घटनास्थलमै मृत्यु भयो ।

घटनामा गाडीमा सवार अन्य २ डाक्टर घाइते भए ।

सोही वर्षको २२ साउनमा सिद्धबाबामै अर्को ठूलो दुर्घटना भयो । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ५७७१ नम्बरको यात्रुवाहक बसलाई पहिरोले धकेलेर तिनाउ नदीमा खसाल्दा ३ जनाको ज्यान गयो ।

२०७४ साल असोजमा सिद्धबाबा क्षेत्रमै गुडिरहेका ट्रक र कारमाथि पहिरो खस्दा ३ जनाको मृत्यु र १ जना घाइते भए ।

भदौ २०७६ मा सिद्धबाबा क्षेत्रमै पहिरोले जीप पुरिँदा चालकको मृत्यु भयो, ६ जना घाइते भए ।

साउन २०७८ मा पहिरोमा परेर सोही क्षेत्रमा ३ वर्षीया नैनी दर्जीको ज्यान गयो ।

असार २०८० मा गुडिरहेको जीपमा ठूलो ढुंगो खस्दा ३ जना घाइते भए ।

दैनिक ५ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने यो सडकमा भएका यी दुर्घटना केही उदाहरण मात्र हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांकअनुसार २०६८ सालयताको १४ वर्षमा सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा भएका दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु र १०० बढी घाइते भएका छन् ।

पहिरो खस्दा कैयौंपटक घण्टौं सडक अवरुद्ध भएको छ भने मानवीय र सवारी साधनको क्षति हुनेमा यात्रुसँगै चालक र गाडी धनीसमेत छन् ।

२०६८ देखि २०७३ वैशाखसम्मको ५ वर्षमा मात्रै सिद्धबाबा क्षेत्रमा खसेका पहिरोमा परेर २५ जनाले ज्यान गुमाएका थिए भने ३० जना घाइते भएका थिए । २०७३ वैशाखयता भने दुर्घटना र मानवीय क्षतिको दर घटेको देखिन्छ ।

चट्टाने भीरको तल बनेको यो सडक खण्डमा हरेक वर्ष वर्षायाममा मात्र नभई सुख्खा याममा समेत पहिरो झर्छ ।

सडकमा पहिरो झरेर बर्सेनि सडक अवरुद्ध हुँदा यात्रु, चालक र मालिकले सास्ती र क्षति खेप्नुपरिरहेको छ ।

तल्लो सिद्धबाबा मन्दिरदेखि माथिल्लो सिद्धबाबा मन्दिर हुँदै दोभानसम्मको ३ किलोमिटर सडकखण्डमा पहिरोको उच्च जोखिम छ ।

बुटवलबाट लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची तथा गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ पुग्न सिद्धबाबा खण्ड भएर यात्रा गर्नुपर्छ ।

बर्सेनि दुर्घटना र मानवीय क्षति हुने भएकाले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डलाई ‘मृत्यु मार्ग’ समेत भनिन्थ्यो ।

यही मृत्यु मार्गको विकल्पका रूपमा झुम्सा-चरंगे सडक निर्माण अघि बढे पनि ६ वर्षसम्म अलपत्र छ भने ७ अर्ब ३४ करोड २१ लाख लागतमा ११ सय मिटर सुरुङ मार्ग निर्माणाधीन छ ।

तर पहिरोको जोखिम क्षेत्र नसमेटेको छोटो सुरुङ मार्गले पहिरो र दुर्घटनाको जोखिम पूर्ण रूपमा अन्त्य नहुने सरोकारवाला बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *