गत १०, ११ र १२ असोजमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त भएका मकवानपुरको बागमती नदी र कुलेखानी ड्याम क्षेत्रका दुई मुख्य पुलमाथि बेलिब्रिज जडानले गति लिएको छ।
मकवानपुर र ललितपुरलाई जोड्ने बागमती नदीमाथि बेलिब्रिज जडान अन्तिम चरणमा पुगेको छ भने इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा केही दिनमै बेलिब्रिज राख्ने तयारी भइरहेको छ।
मकवानपुर र ललितपुरलाई जोड्ने बागमती नदीमाथि बेलिब्रिज जडान अन्तिम चरणमा पुगेको छ।
हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथ आइतबार (२५ जेठ) बाट सञ्चालनमा आउने भएको छ।
बर्खा सुरु हुनै लाग्दा सडक समस्या समाधान गर्न कान्ति लोकपथ सडक आयोजनाले २१ देखि २४ जेठसम्म सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरी बेलिब्रिज जडानको काम अघि बढाएको हो।
योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यका अनुसार शनिबार रातिसम्म काम सकेर आइतबारदेखि गाडी सञ्चालन गर्ने तयारी छ।
‘बेलिब्रिज जडान कार्य अन्तिम चरणमा छ,’ प्रमुख बज्राचार्यले भनिन्, ‘शनिबार रातिसम्म काम सकेर आइतबारबाट सवारी सञ्चालन गर्छाैँ।’
उनका अनुसार मकवानपुरतर्फ २४ मिटर लामो बेलिब्रिज जडान गरिएको हो ।
बेलिब्रिज र पुलसम्मको पहुँच मार्गको फाउन्डेसन निर्माणका लागि कुल दुई करोड बजेट विनियोजन गरिए पनि करिब एक करोड ४५ लाखमा सम्पन्न हुँदै छ।
गत १२ असोजमा आएको बाढीले बागमती खोलामाथिको पुलको मकवानपुरतर्फको १५ मिटर पहुँच मार्ग बगाएपछि सवारी आवागमनमा समस्या हुँदै आएको थियो।
अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिए पनि पटक-पटकको बाढीले डाइभर्सन बगाउँदा केही दिनदेखि उक्त सडक खण्ड अवरुद्ध हुँदै आएको थियो।
१५ जेठमा बागमतीमा आएको बाढीले एउटा तेल ट्यांकर र एउटा डब्बा ट्रकसमेत बगाएको थियो।
यसैबिच, कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकातर्फ ठिंगन–बगुवा सडकखण्डको गँगटेनजिकै रहेको भर्याङडाँडामा सडक चौडाइ विस्तारका लागि चट्टान कटानको काम सकिएको जानकारी पनि प्रमुख बज्राचार्यले दिइन्।
उनले उक्त क्षेत्रमा अब तत्काल कुनै सडक समस्या नरहेको बताइन्।