भक्तपुरबाट कलंकी जाने बस चढेकी स्मिता श्रेष्ठलाई सहचालकले धकेलेको भन्दै झगडा पर्यो ।
सहचालकले ‘पछाडि सिट खाली छ’ भन्दै धकेलेपछि श्रेष्ठले प्रतिकार गरेकी थिइन्, लगत्तै झगडाको स्थिति भएको थियो ।
यात्रु कोचाकोच हुँदा रोक्दै मान्छे हाल्दै हिँडेको बसमा भने जम्मा १६ सिट थियो ।
‘बस चाहिँ यत्रो छ, मान्छे चाहिँ ६० सिटे बसमा हाल्ने जति हाल्छ, गुन्द्रुक जसरी खाँदेर हुन्छ त ?,’ स्मिताको पक्षमा बोल्ने अन्य यात्रुले सहचालकलाई गाली गरे ।
मंगलबार जडीबुटीमा घटेको उक्त घटना काठमाडौंमा सयौं यात्रुले भोग्ने एउटा प्रतिनिधि घटनामात्र हो । सार्वजनिक सवारीमा यात्रा गर्नेले बसमा यस्ता घटना दैनिकजसो भोग्नुपर्छ ।
टिकाथलीबाट महाराजगञ्ज चल्ने नेपाल यातायात चढेका ४७ वर्षीय भागिरथी बास्तोला भन्छिन्, ‘हामी सुरुमा चढ्ने, अन्तिममा ओर्लने भएर अन्तिम सिटमा बस्छौं तर यत्रो पुन्टे बस हालेको छ । त्यहाँ कोटेश्वर चोक पुग्दा मान्छे खाँदेर लास्टसम्म आइपुग्छ ।’
उनले यात्रु चाप हुने धेरै स्थानमा लामो र दुई तले बस हुनुपर्ने बताइन् ।
‘कम्तीमा बस राख्दा अहिलेको ३ वटा चल्ने बस बराबर एउटै बस हुनुपर्यो नि, बस चाहिँ टेम्पोजक्रो छ, मान्छे चाहिँ कोचेर हुन्छ त ?,’ आत्रोशित मुद्रामा उनले भनिन् ।
छेउमै रहेका नेपाल यातायातका सहचालकले उनको तर्क काट्दै भने ‘अहिले हालेको बस त लामै छ, पुरानो त सबै सानै त छ नि! धन्य, यति नै चलायो भन्नु छैन, जो पनि गाली गर्न आउँछ,’ ती सहचालक रिसाउँदै भन्छन् ।
काठमाडौं उपत्यकामा चल्ने बस छोटा र कम सिटे हुँदा सार्वजनिक सवारी याक्रुले सास्ती बोक्दै आएको गुनासो व्यत्त गर्छन् । यात्रुले सार्वजनिक बस सुधार्दा धेरै निजी सवारी कम हुने बताउँदै आएका छन् ।