विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउने

सरकारले विश्वकै लामो मानिएको ‘मुक्तिनाथ केबुलकार’ परियोजनाको ५७ अर्ब ६४ करोड लगानी स्वीकृत गरेको छ ।

बिहीबार सम्पन्न लगानी बोर्डको ६४औँ बैठकले परियोजनाको लगानी स्वीकृत गरेको हो । परियोजना विकास सम्झौता (पिडिए) गर्न बिहीबारकै बैठकले कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

अब वार्ता समितिले प्रस्तावक कम्पनी मुक्तिनाथ दर्शन प्रालिसँग वार्ता गरेर पिडिएको मस्यौदा बनाउनेछ । सरकारले १५ जेठमा ल्याएको आगामी आवको बजेटमा पनि यो परियोजना निर्माणमा सहजीकरण गर्ने उल्लेख छ ।

बोर्डका प्रवक्ता प्रधुम्नप्रसाद उपाध्यायले परियोजनाको लगानी स्वीकृत भएको जानकारी दिए । ‘साथै, पिडिएका लागि वार्ता कमिटी पनि गठन भएको छ ।

कम्पनीको तर्फबाट पनि वार्ता कमिटी गठन गर्नुपर्ने हुन्छ होला । त्यसपछि वार्तामार्फत पिडिएको मस्यौदामा तयार गर्छाैँ,’ उनले भने, ‘पिडिएमा हस्ताक्षर भयो भने कम्पनीले परियोजना निर्माणको काम अघि बढाउन सक्छ ।’

मुस्ताङको धार्मिक गन्तव्य मुक्तिनाथ मन्दिर पुग्न हालसम्म सुविधाजनक सडक बनेका छैनन् ।

सोही अवस्थालाई लक्षित गर्दै यो परियोजनाको कल्पना गरिएको हो । कुल ८१.०१४ किलोमिटर लम्बाइ रहने यो केबुलकार विश्वकै लामो पनि हुनेछ ।

यसको सुरुवाती (बेस) स्टेसन पर्वत जिल्लाको बिरेठाँटीमा हुनेछ भने अन्तिम स्टेसन मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा हुनेछ ।

बिरेठाँटीबाट तीन घण्टा ३६ मिनेट (ट्रान्जिट समयबाहेक)मा मुक्तिनाथ पुग्न सकिनेछ ।

केबुलकारको गति प्रतिसेकेन्ड सात मिटर हुनेछ । नेपालमा निजी क्षेत्रबाट बन्न लागेको यो सबैभन्दा ठुलो एकल पूर्वाधार (दूरसञ्चारबाहेक) पनि हो ।

कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले लगानी स्वीकृत हुने निर्णय स्वागतयोग्य भएको बताए । ‘आजभन्दा ११ वर्षअघि परियोजना निर्माणका लागि प्रक्रिया अघि बढाएको हो ।

अहिले बल्ल लगानी स्वीकृति भएको छ । ढिलै भए पनि यसमा कम्पनीले खुसी व्यक्त गर्दछ,’ उनले भने, ‘अब हामी पनि वार्ता कमिटी गठन गर्छाैँ ।

यही असारभित्र पिडिएको मस्यौदा तयार गर्ने लक्ष्य राखेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *