नेपाल–चीन–भारत जोड्ने छोटो दुरीको गल्छी–त्रिशूली–रसुवागढी सडक निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ।
बहुप्रतिक्षित त्रिदेशीय मार्ग अन्तर्गतको वीरगन्ज–गल्छी–त्रिशूली–रसुवागढी सडक निर्माणका लागि सरकारले साढे दुई अर्बभन्दा बढी बजेट विनियोजन गरेको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो सडक योजनाका लागि कुल २ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्।
सडकको लागि बजेट विनियोजन भएपछि नुवाकोट र रसुवावासी खुसी भएका छन्।
सडकले पूर्णता पाएपछि देशको अर्थतन्त्र लयमा आउने बागमती प्रदेशका पूर्वमन्त्री तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए, उक्त सडकलाई समयमै सक्ने गरी योजनाका साथ कार्य गर्नुपर्ने उनले बताए ।
गल्छी–त्रिशूली–रसुवागढी सडक निर्माणपछि आयात–निर्यात भारत र चीनतर्फ छिट्टो हुने अपेक्षा गरिएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।

