काठमाडौंमा नयाँ कम्पनी यांगोको प्रवेश

नेपाली राइड सेरिङ बजारमा फेरि एक नयाँ कम्पनीको आगमन भएको छ। दुबईमा आधारित यांगो ग्रुपले मंगलबारदेखि काठमाडौंमा राइड सेयरिङ सेवा परीक्षणका रूपमा सुरु गरेको छ। 

पठाओ र इन्ड्राइभजस्ता प्रमुख प्रतिस्पर्धीको दबदबा रहेको बजारमा अब यांगोको पनि प्रवेश भएको हो।

यांगोले उपाय, दोस्ती, इड्राइभ नेपाल, नेपाल फ्लिट, किम एडभेन्चरलगायत नेपाली कम्पनीहरूसँग सहकार्य गर्दै सेवा विस्तार गरेको जनाएकोछ। काठमाडौंमा परीक्षण सेवा प्रदान गर्ने पहिलो एप बनेको कम्पनीको दाबी छ।

नेपालमा हाल पठाओ र इन्ड्राइभले ठुलो बजार हिस्सा ओगटिरहेका छन्।

यांगोका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायोका अनुसार यांगो दुबईमा आधारित अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो।

जसले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व र दक्षिण एसियालगायत ३० भन्दा बढी देशमा राइड, डेलिभरी, फुडटेक, मनोरञ्जनजस्ता डिजिटल सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले यांगो एप गुगल प्ले र एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने जनाएको छ। यात्रुहरूले एपमा गन्तव्य राखेपछि यात्रा दूरीको आधारमा भाडा स्वतः गणना गर्नेछ।

प्रारम्भिक चरणमा नगद भुक्तानी मात्र उपलब्ध हुनेछ र परीक्षण कालमा यांगो एपले चालकहरूबाट कमिसन नलिने जनाएको छ।

‘हाम्रो उद्देश्य सस्तो, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्नुका साथै स्थानीय परिवहन पूर्वाधार र रोजगारीमा टेवा पुर्‍याउनु हो,’ प्रमुख व्यापार अधिकृत अदेनियीले भने।

कम्पनीले आफ्नै सवारी वा चालक प्रयोग नगरी साझेदार चालक तथा स्थानीय यातायात प्रदायकमार्फत सेवा प्रवाह गर्ने जनाएको छ । स्मार्ट अर्डर प्रणाली, म्यापिङ र नेभिगेसन प्रविधिको प्रयोग रहेको कम्पनीले जनाएको छ।

स्थानीय उद्यमी जेनिश श्रेष्ठका अनुसार यांगोसँगको सहकार्यले पारदर्शी, डिजिटल लेखा प्रणाली, फ्लिट व्यवस्थापन लगायत नवीन कार्यपद्धति ल्याउनेछ।

साथै, कम्पनीले हाल वातावरणमैत्री इलेक्ट्रोनिक ट्याक्सी र मोटरसाइकललाई प्राथमिकतामा राखेर आबद्ध गरिरहेको पनि जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *