जापानी कार निर्माता कम्पनी निसान हाल आर्थिक संकटमा परेपछि चिनियाँ सरकारी कम्पनी डोङफेङसँग विश्वव्यापी कारखानाहरूमा साझेदारी गर्न इच्छुक देखिएको छ।चीनको प्रतिस्पर्धी बजारमा मूल्य घट्दा निसानले चुनौती भोगिरहेको छ।
होन्डासँगको इभी उत्पादन योजना असफल भएपछि कम्पनी थप संकटमा परेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क नीतिले पनि निसानको अवस्था जटिल बनाएको छ।
हालै सार्वजनिक भएको रिपोर्ट अनुसार, निसानले एक वर्षमा ६७० अर्ब येन (४.६ अर्ब डलर) घाटा बेहोरेको छ।
यसका कारण कम्पनीले अमेरिका र चीन जस्ता प्रमुख बजारमा बिक्री घटेपछि ११ हजार कामदार हटाउने र सात कारखाना बन्द गर्ने घोषणा गरेको छ।
गत नोभेम्बरमा पनि ९ हजार कर्मचारी कटौती गरिएको थियो।हाल निसानमा विश्वभर १ लाख ३३ हजार ५०० जना कर्मचारी कार्यरत छन्।
यसैबीच, निसानको ब्याट्री साझेदार एईएससीले बेलायतको सण्डरल्याण्डमा नयाँ प्लान्टका लागि बेलायती सरकारबाट १.३ अर्ब डलरको कोष प्राप्त गरेको छ, जसले जुक र लीफ इलेक्ट्रिक मोडेलका लागि ब्याट्री उत्पादन गर्नेछ।