उदयपुरको त्रियुगा नगरपालिकाले वडा नम्बर ३ मा रहेको त्रियुगा बसपार्क छेउका अवैध संरचनाका रूपमा बनेका आठ घर भत्काउन थालेको छ ।
नगरपालिकाले बसपार्क विस्तारका लागि सार्वजनिक ऐलानी जग्गामा रहेको अवैध नौ घर भत्काउन थालेको हो ।
त्रियुगा नगरपालिका– ३ का वडा सदस्य कानुन चौधरीका अनुसार अवैध संरचना बनाएर बसोबास गर्ने सत्यदेवदास चौधरी, बलदेवदास चौधरी, शंकर चौधरी हरिहरवती चौधरी, शर्मिला चौधरी, नीरबहादुर रोका, श्यामकुमार चौधरीको घर भत्काउन थालेको हो ।
उनले भने, ‘घरधनी पहिचान हुन नसकेका भाडावाला सोनु चौधरी, सञ्जयवती चौधरीको टिनको छाना भएको घर भत्काइनेछ ।’
वडा नम्बर ३ कै वडाध्यक्ष तिलकबहादुर कटुवालले अहिलेसम्म बसपार्कमा रहेको एक सार्वजनिक शौचालय र तीन घर भत्काइसकिएको जानकारी दिए ।
उनले भने, ‘नगरपालिकाले कानुनी प्रक्रिया पुर्याएर सूचना जारी गरीकन भत्काएको हो। यहाँ घर बनाएर बसेका जग्गा–जमिन नभएका पीडित सुकुमवासीलाई त्रियुगा बसपार्ककै अर्को छेउमा जग्गा उपलब्ध गराइएको छ ।
जसमा भत्काइएको ठाउँमा एक कट्ठा छ भने अर्को स्थानमा दश धुर घडेरी उपलब्ध गराइएको छ । भत्काइएको ठाउँमा दुई कट्ठा हुनेलाई एक कट्ठा दिइएको छ ।
वास्ताविक सुकुमवासीलाई अर्को ठाउँमा सार्ने र जग्गा दिने गरी नगरपालिकाले भत्काएको हो ।’
भत्काइएका नौ घर त्रियुगा नदी किनारमा पर्दछन् । अहिले त्यही क्षेत्रमा आधुनिक रूपमा त्रियुगा बसपार्क निर्माण भइरहेको छ ।
बसपार्क निर्माणमा अवरोध पुग्ने भएकाले भत्काइएको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाले घर भत्काउन थाले पनि घरमा रहेका सामानहरू झिक्नलाई समय माग्नेहरूलाई पनि समय उपलब्ध गराइएको वडाध्यक्ष कटुवालको भनाइ छ ।
त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले नगर क्षेत्रमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्दै जाने र नगर क्षेत्रभित्र रहेका वास्तविक सुकुमवासीको पहिचान गर्दै व्यवस्थित गर्ने अभियानअन्तर्गत बसपार्क निर्माणमा अवरोध भएकाले कानुनी प्रक्रिया पुर्याएर भत्काउन थालेको बताए ।
उनले भने, ‘त्रियुगा बसपार्कछेउमा भत्काइएका घरका वास्ताविक सुकुमवासीलाई अर्को स्थानमा घडेरी पनि उपलब्ध गराइएको छ ।’
उनले यता त्रियुगा नगरपालिका– १३ हवाईफिल्डमा रहेको मदन भण्डारी सभाहलआसपास रहेका तीन घर पनि भत्काउने कार्ययोजना रहेको जानकारी दिए ।