विद्युतीय सवारीको चार्जिङ प्रविधि विभिन्न प्रकारका छन्। त्यसमध्ये पछिल्लो समय धेरै प्रयोगमा रहेका प्रविधि हुन् ‘जीबीटी’ र ‘सीसीएसटू’।
मुख्यगरी ‘सीसीएसटू’ विद्युतीय कारमा प्रयोग भइरहेको छ भने ‘जीबीटी’ सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय भ्यान, माइक्रोबस, लाइट कमर्सियल सवारी र ठूला विद्युतीय बसमा प्रयोग भइरहेको छ।
तर नेपाली बजारमा सार्वजनिक विद्युतीय यातायातमा ‘जीबीटी’ र ‘सीसीएसटू’ दुवै चार्जिङ प्रविधि भएका भ्यान तथा माइक्रोबस आयात भइरहेको छ।
यसले सार्वजनिक यातायातको विद्युतीकरणको दीर्घकालीन योजनामा समेत असर पार्न सक्छ।
सोही कारण सरकारले सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय सवारी साधनको आयातमा एकै प्रविधिको चार्जिङ पोर्टयुक्त सवारी आयात गर्ने व्यवस्था गर्न अब ढिलाइ गर्न नहुने व्यवसायीहरुको भनाइ छ।
नेपालमा हाल आयात भइरहेका विद्युतीय सार्वजनिक यातायातमा केही ब्रान्डले अलग देखिन ‘सीसीएसटू’ प्रविधियुक्त चार्जिङ पोर्ट भएका सवारी आयात गरिरहेका छन्।
‘सीसीएसटू’लाई जीबीटीको तुलनामा महँगो प्रविधि मानिन्छ। ‘सीसीएसटू’ युरोप तथा अमेरिकाले विकास गरेको प्रविधि हो भने ‘जीबीटी’ चीनले विकास गरेको हो।
चीनबाट आयात हुने विद्युतीय भ्यान तथा माइक्रोबसमा ‘सीसीएसटू’ प्रविधि प्रयोग भएर आउँदा ‘जीबीटी’भन्दा महँगो हुने निश्चित नै छ।
‘जीबीटी’ चीनको आफ्नै प्रविधि भएकाले त्यो त्यहीँ बनेका विद्युतीय भ्यान तथा माइक्रोबसमा कम मूल्यमा प्रविधि प्रयोग हुन सक्छ।
प्यासेन्जर कारमा ‘सीसीएसटू’ चार्जिङ प्रविधि प्रयोग भएको छ। तर प्यासेन्जर कारको प्रयोग र उपादेयता फरक हुन्छ। कमर्सियल गाडी विभिन्न रुट तथा गन्तव्यमा जानु पर्ने भएकाले हरेक ठाउँमा चार्जिङ स्टेसन राख्नु पर्ने हुन्छ।
यसले उपभोक्तालाई महँगो गर्ने, राज्यले अलग्गै चार्जर आयात गर्न डलर खर्चनु पर्ने, प्रविधिको इन्स्टलेसन तथा मर्मतमा अतिरिक्त खर्चनु पर्ने अवस्था छ।
सोही कारण सरकारले विद्युतीय माइक्रोबस, भ्यान, लाइट तथा ठूला कमर्सियल गाडी र ठूला बस आयात गर्दा ‘जीबीटी’ चार्जिङ पोर्टलाई एक रुपता कायम गर्नुपर्ने देखिन्छ।
हाल नेपालमा आयात भइरहेका विद्युतीय माइक्रोबस, भ्यान, लाइट कमर्सिलय सवारीदेखि साझाले आयात गरेका ठूला विद्युतीय बससम्म ‘जीबीटी’ चार्जिङ प्रविधिका छन्।
फोटोन र सोकान ब्रान्डका विद्युतीय भ्यान तथा माइक्रोबस भने ‘सीसीएसटू’ प्रविधिका हुन्।
सबैजसो सार्वजनिक प्रयोगमा रहेका विद्युतीय सवारी चीनबाट आइरहेका छन्, ती दुईबाहेक सबै ‘जीबीटी’मै आइरहेका छन्।
त्यतिमात्र होइन भारतमा बनेर आइरहेको टाटा एस ईभीमा समेत जीबीटी चार्जिङ सिस्टम छ।
एस ईभी टाटाको लाइट कमर्सियल सवारी हो। सोही कारण सार्वजनिक सवारीमा प्रयोग हुने विद्युतीय सवारीको चार्जिङ सिस्टम एकै बनाउने उपयोगी छ।
अहिले सार्वजनिक विद्युतीय सवारीको चार्जिङ स्टेसनहरु होटलमा छन्। ‘सीसीएसटू’ प्रविधियुक्त चार्जिङ भएका एक/दुई माइक्रोबस आउने हुँदा होटलहरु लागि पनि त्यो खर्चको भारमात्र हो।
क्रमिक रुपमा होटलहरुले धेरै माइक्रोबस तथा भ्यानले चार्ज गर्ने जीबीटी नै राख्ने हुँदा राज्यले आयातका लागि विदेशी मुद्रा गुमाउने बाहेक यसबाट उपलब्धी हुँदैन।
Post Views: 268