नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई मोटर स्पोर्ट्सका चर्चित पात्र हुन् । तथापि, उनी खेलाडी हैनन् ।
तर, मोटर स्पोर्ट्समा उनको योगदान र सफलता हेर्दा उनी खतरा खेलाडी हुन् ।
उनले नेपालमा नासा नेपालको स्थापना गरेर यसलाई गर्बिलो संस्था बनाएका छन् । विश्वका धेरै संगठनसँग नासालाई जोडेका छन् ।
नेपालमा धेरै अटो स्पोर्ट्सको आयोजना गर्न सफल भएका छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको सहभागिता हुने वातावरण बनाएका छन् । नासाले मोटर स्पोर्ट्सका खेलाडीलाई लाइसेन्स पनि दिने गरेको छ ।
नासा नेपालले मोटर स्पोर्ट्समा दर्बिलो आधार तयार गरेको छ, प्रतिफल आउने बेला हुँदै छ ।
हुन त मोटर स्पोर्ट्स अहिलेको अवस्थामा आउनका लागि यो क्षेत्रका सबै व्यक्तिको उक्तिकै योगदान रहेको छ, तर गोविन्द भट्टराईको नेतृत्व निकै प्रभावकारी छ ।
उनको अटो क्षेत्रको करियर टोयोटाको सिनामंगलमा रहेको सर्भिस सेन्टरमा मेकानिक्सको हेल्परका रुपमा सुरु भएको हो । गाडी धुनबाट उनको पेसा सुरु भयो ।
जीवन धान्न र अनुभव गर्न अटो क्षेत्रमा धेरै लेभलमा बसेर काम गरे । अहिले अन्तर्राष्ट्रिय अटोमोबाइल्सको बोर्ड मेम्बर हुने चरणसम्म पुग्दा झन्डै यो ३० वर्ष अहोरात्र खटेर उनी र उनको टिमले काम गरिरहेको छ ।
पछिल्लो दिनमा नासा नेपालमा रहेर उनको टिमले यो क्षेत्रको विकास कसरी गर्ने, विभिन्न सहरलाई मोटरस्पोर्ट्सको सहर कसरी बनाउने, संसारका अटो क्षेत्रमा लागेका सेलिब्रेटीहरुलाई कसरी नेपालसँग जोड्ने भन्नेलगायतको काममा महत्वपूर्ण भूमिका खेलेको छ ।
कामको सिलसिलामा भट्टराई र उनको टिम अस्ट्रेलियादेखि एलसल्बाडोरसम्म र दक्षिण अफ्रिकादेखि फिनल्यान्डसम्म पुगेको छ ।
उनको विचारमा संसारका सयौं व्यावसायिक, अटोमोबाइल र पर्यटकीय निकायसँग सहकार्य गरेर प्राप्त गरेको अनुभव नेपालको हितमा लगाउने प्रयास रहेको छ ।
उनले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित वल्र्ड टाउनमा रहेको इन्टरनेसनल रोड फेडरेसनको तालिम केन्द्रमा रोड सेफ्टी अडिटिङको तालिम लिएका छन् ।
जेनेभा, बेइजिङ, सिंगापुरसम्मका मोटर स्पोर्ट्समा कहिले अफिसियलको रुपमा र कहिले खेलाडीको रुपमा जाने अवसर पनि उनलाई मिलेको छ ।
उनको भनाइमा उनलाई नेपालको स्पोर्ट्स अफिसियलको रुपमा दर्जनौं फोरम परिचालन गर्ने अवसर प्राप्त भयो, त्यसलाई राष्ट्रहितमा भने जोड्न बाँकी छ । परिणाम देखाउन सकेको छैन ।
उनी भन्छन्, ‘अब एक दशक बाँचेको खण्डमा परिणाम देखाउँछु ।’