लामो समयदेखि काम अघि नबढेको चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढाउन अन्ततः चिनियाँ प्राविधिक टोली आइपुगेको छ ।
टोलीले दुई महिना सर्भे गर्ने र त्यसपछिका चार महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्ने चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ । त्यसपछि मात्र निर्माण प्रक्रिया अघि बढ्नेछ ।
निर्माण गर्ने ठाउँमा केही समस्या नरहेको र तयारीका सबै काम पनि सकिएको काठमाडौं चक्रपथ सडक विस्तार योजना प्रमुख कृष्णनाथ ओझाले जनाए ।
डीपीआरको काम सकिएपछि आवश्यक अध्ययन गरेर मात्र त्यसको स्वीकृति सडक विभागले गर्ने उनको भनाइ छ ।
‘चीनबाट शनिबार प्राविधिक टोली आएको छ, टोलीले ड्रोन उडाएर सर्भे गर्नेछ,’ उनले भने, ‘विस्तार गरिने क्षेत्रमा काम गर्न अनुमति मागेको छ । त्यसका लागि मंगलबार अनुमति दिइसकेका छौं ।’
सर्भे गर्न चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टान्ट्स र सीआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका पाँच जना प्राविधिक आएका छन् । यो संख्या भने थपघट हुँदै जाने सडक विभागले जनायो ।
डीपीआर तयार भएपछि कति लागत लाग्छ, थाहा हुने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख विजय जैसीले बताए ।
‘अध्ययनको काम सबै सकिएपछि लागत अनुमान तयार हुन्छ, चिनियाँ प्राविधिकले धेरै काम यहीँ बसेर सक्नेछन्, आवश्यक तथ्यांक लिने र अध्ययन गरेर मात्र चीन फर्कनेछन्,’ उनले भने, ‘कुनै समस्या नआए अबको एक वर्षभित्र यस खण्डको ठेक्का लागेर काम सुरु हुन्छ ।’
चीन सरकारको अनुदानमा बन्न लागेकाले यसको मुख्य ठेक्का चिनियाँ कम्पनी नै रहने जनाइएको छ ।
‘यसमा हामीले समन्वय मात्र गर्ने हो, ठेक्का चीनमै भएर निर्माणको जिम्मा लिने कम्पनी मात्र नेपाल आउँछ,’ जैसीले भने, ‘त्यहीअनुसार ठेक्का गरेर काम अघि बढाउँछौं ।’
अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ ।
अब विस्तार गर्दा सर्भिस लेनबाहेक आठ लेन सडक बन्नेछ । गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो तर त्यसपछि प्रगति नहुँदा सर्वसाधारणमा निराशा थपिएको हो ।
काठमाडौंका विभिन्न क्षेत्रका सांसदले विस्तारको काम छिटो थाल्नुपर्ने माग राख्दै सरकारलाई दबाब दिँदै आएका थिए ।
कोटेश्वर–कलंकी पहिलो खण्डको काम भने २०६९ मा सुरु भई २०७५ सालमा सकिएको थियो ।
चीन सरकारको अनुदानमा दोस्रो खण्ड कलंकीदेखि बसुन्धरा कल्भर्टसम्म ८.२ किलोमिटर सडक विस्तार गर्न लागिएको हो ।
चीनसँग सन् २०१८ मा सडक विस्तारका लागि जीटूजी सम्झौता भएको थियो ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतको संयुक्त टोलीले २०७९ फागुन ११ मा सडक विस्तार गर्ने खण्डको स्थलगत निरीक्षणपछि डिजाइनको काम अघि बढाइएको सुनाएका थिए ।
तर त्यसपछि डिजाइनबारे न चीन बोल्यो, न नेपाल सरकारले डिजाइन पूरा भएको जानकारी गरायो ।
यसअघि कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किमि सडक बनाउन चीनलाई ६ वर्ष लागेको थियो । चीनको ५ अर्ब अनुदानमा उक्त सडक ८ लेनमा विस्तार गरिएको थियो ।
नेपाल सरकार आफैंले महाराजगन्जबाट चप्पल कारखानाको ७ सय मिटरमा भने ठेक्का लगाएर काम गरिरहेको छ ।
यस खण्डमा चिनियाँ संलग्नता छैन । महाराजगन्जदेखि गोपीकृष्ण पुलसम्मको २ दशमलव ४ किमि खण्डमा सर्भिस लेनबाहेक सडक ८ लेनमा विस्तार गरिने सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
ठेक्का लागेर काम अघि बढेको खण्डको काम २० प्रतिशत सकिइसकेको पनि उनको दाबी छ ।
चक्रपथ दोस्रो खण्ड विस्तार गर्ने चर्चा चलेको ७ वर्ष भइसक्यो । तर न डिजाइनको काम भयो, न निर्माणले गति लियो । पूर्वतयारीका लागि भन्दै कलंकी–बसुन्धरा खण्डमा जताततै सडक भत्काइयो ।
छेउछाउमा माटो थुपारेर सडक नै साँघुरो पारियो । यही कारण हिउँदमा धूलो र बर्खामा हिलोले गर्दा बसुन्धरा–कलंकी सडक भएर यात्रा गर्ने सर्वसाधारण अनि चालकले दिनहुँ सास्ती बेहोरिरहे ।
सुरुका दिनमा चीनले पूर्वतयारी नसकी निर्माणको प्रक्रिया अघि नबढाउने अडान लियो ।
तयारीमा ढिलाइ गरिरहेको नेपाल सरकारले हतारमा आफ्नो जिम्मेवारीको काम सक्यो ।
पूर्वतयारीको काम सकेको चार वर्ष पुग्दा पनि चिनियाँ टोलीले आएर काम थालेन ।
स्थानीय जनगुनासो दैनिक बढ्न थालेपछि बढी धूलो उड्ने सडक खण्डमा मर्मत गरिएको ओझाले जनाए ।