नौबिसे सुरुङ पूरा हुन कठिन

सरकारले तेस्रोपटक म्याद थपेर अघि बढाइरहेको मुलुकको पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग समयमा सकिन कठिन देखिएको छ।

स्थानीयको अवरोधका कारण झन्डै १ महिना आयोजनाको काम ठप्प थियो। ठेकेदार कम्पनीले रफ्तारमा काम अघि बढाए मात्र पछिल्लो तोकिएको समयमा आयोजना सम्पन्न हुन सक्ने बताइएको छ।

यसैबीच स्थानीय अवरोध हुँदै गर्दा नै सुरुङ निर्माण पुनःसञ्चालन भएको छ। २०८१ चैत ३ गते स्थानीयको अवरोधका कारण आयोजनाको काम ठप्प भएको थियो।

अवरोधको २६ दिनपछि प्रहरी प्रशासनको रोहवरमा आयोजनाको काम सुरु गरिएको आयोजनाका सिनियर डिभिजनरल इन्जिनियर सन्जय पन्थीले अन्नपूर्णलाई जानकारी दिए।

२०८१ चैत मसान्तबाट आयोजना निर्माणको काम पुनः सुरु भए पनि स्थानीयको नाराबाजी भने जारी रहेको पन्थीले बताए।

‘सशस्त्र प्रहरी बल र जनपद प्रहरीको रोहवरमा आयोजन निर्माणको ठप्प भएको काम सुचारु भएको छ।

अहिले पनि स्थानीयहरूले नाराबाजी र प्रदर्शन गरिरहनु भएको छ। काम भने सुरु भएको छ,’ उनले बताए।

स्थानीयको अवरोधका कारण निर्माण सम्पन्न गर्नुपर्ने तेस्रो म्याद थप कात्तिक ७, २०८२ (अक्टुबर २५,२०२५)मा पनि सम्पन्न गर्न मुस्किल पर्ने देखिएको छ।

एक महिना निर्माण पूर्णरूपमा बन्द भएकाले यसले तोकिएको समयमा थप १ महिना असर गर्न सक्छ भन्दै पन्थीले ठेकेदारले अध्ययन गरी थप समयको माग गर्न सक्ने जानकारी दिए।

ठेक्का लागेको मितिले २०८० वैशाख १३ गते निर्माण सम्पन्न गर्नुपर्ने आयोजना कोभिड महामारी र स्थानीयका अवरोधका कारण पहिलोपटक ३ महिना म्याद थपिएको थियो।

दोस्रोपटक म्याद थपेर २०८१ वैशाख १५ सम्मको म्याद थपियो। तेस्रो म्याद थप यही कात्तिक ७ गतेसम्म रहेको छ।

मुख्य सुरुङ माथिका घरहरूको जग्गा मूल्य कम भएको, खानेपानी पछिसम्म निःशुल्क, आयोजना सम्पन्नपछि पनि रोजगारीको व्यवस्था, क्षतिपूर्तिको व्यवस्था लगायतका माग राखेर स्थानीयले अवरोध गरेको पन्थी बताउँछन्।

‘क्षतिपूर्तिको सम्बन्धमा आयोजनाले सम्बोधन गरिसकेको छ। जायज मागहरू सम्बोधन गर्दै आइरहेका छौं। तर, माग सम्बोधन गर्दा पनि अन्य मागहरू थपिँदै गएका छन्।

आयोजनाले पूरा गर्न नसक्ने मागहरूका कारण प्रहरीको सहायतामा आयोजनाको काम पुनः सुचारु गरिएको हो,’ उनले भने।

त्रिभुवन राजमार्गको नौबिसे–काठमाडौं खण्डमा घण्टौंसम्म जाम पर्ने भएपछि उक्त सुरुङको आवश्यकता महसुस गरिएको हो।

नागढुंगा भन्ज्याङको सिस्नेखोलादेखि काठमाडौं जिल्लाको चन्द्रगिरी नगरपालिका–३ सम्मको २ हजार ६ सय ६८ मिटर सुरुङ निर्माण र सोको लागि पश्चिमतर्फ ५ सय ६५ मिटरको र पूर्वतर्फ २ हजार ३ सय ७ मिटरको पहुँच सडक निर्माण गरी सडक यातायात सुधार गर्ने र नागढंगा आसपासमा रहेको सवारी चापलाई कम गर्ने उद्देश्य लिइएको छ।

केपी शर्मा ओलीले नै अघिल्लो पटक प्रधानमन्त्री हुँदा २०७६ साल कात्तिक ४ गते शिलान्यास गरेपछि निर्माण थालिएको थियो।

सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र जापानको हाज्मा–आन्द्रो जेभीबीच २०७६ साल असोज ६ गते सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएको थियो।

 कुल २२ अर्ब रुपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको हो।

सरकारले जापानको जाइकासँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएको हो।

आयोजनाको उद्धार सुरुङ (रेस्क्यू टनेल) भने छिचोलिसकेको छ।

आयोजनाले तोकेको सर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किलोमिटर र धादिङतर्फ धुनीबेसीको सिस्ने खोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ।

दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ।

सुरुङ सञ्चालनमा भएपछि थानकोटबाट ३ मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्ने छ।

सडकको लम्बाइ ८ किमि कम हुनेछ। सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिनेछ।

निर्माण सुरु भएको करिब ६ वर्षको अवधीमा आयोजनाको प्रगति ८८ प्रतिशत भएको इन्जिनियर पन्थीले बताए।

२०८१ असोजमा आएको बाढि नौबिसे सडकमा क्षति पु¥याएका कारण यहि सुरुङ मार्ग प्रयोग गरी यातायात सुचारु गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *