जेठभित्र ‘सञ्चालनमा आउँदै’ ग्वार्को ओभरपास

भत्काएर फेरि निर्माण थालिएको ग्वार्को ओभरपास जेठभित्र सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।

निर्माण सम्पन्न भई जेठभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको आयोजना प्रमुख तथा गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक दीप बाराहीले बताए ।

‘यसको म्याद पुस पुस ८ गते नै सकिएको हो । पुस ९ गतेदेखि दैनिक ८५ हजार रुपैयाँ हर्जाना तिरेर काम भइरहेको छ । पुस ८ पछि म्याद थप भएको छैन ।

चैत मसान्तसम्म सक्ने कार्यतालिका थियो,’ उनले भने, ‘तर प्यानल निकालेर पुनः राख्दा निर्माण कम्पनीले वैशाखभित्रै सक्ने प्रतिबद्धता जनाएको छ । जेठभित्र सञ्चालनमा आइसक्छ । ’

८२  प्रतिशत निर्माणसम्पन्न भएको यो ओभरपासको एउटा सानो खण्ड भत्काएर फेरि निर्माण भइरहेको छ ।

गत माघ २४ गतेदेखि ग्वार्को ओभरपासमा सातदोबाटोतर्फ राखिएको रेनफोर्स्ड अर्थ (आरई वाल) को प्यानल झिकेर फेरि राखिरहेको छ ।

गत माघदेखि सातदोबाटोतर्फ करिब ४० मिटर दूरीमा राखिएको वालको प्यानल झिकेर फेरि जडान गरिरहेको छ ।

भत्काएर निर्माण थालिएको वाल अन्तिम चरणमा 

निर्देशक बाराहीले भत्काए फेरि निर्माण थालिएको वाल निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

 ‘करिब ४० मिटरमा राखिएको आरई वालको प्यानलमा सुधार गर्नुपर्ने देखियो,’ उनले भने, ‘बीचमा ग्याप भएको र त्यति मात्र सुधार गर्न नमिल्ने भएपछि पूरै भाग निकालेर काम गरिएको हो ।

प्यानल निकालेर अहिले पुनः जडान भइरहेको छ । अहिले अन्तिम चरणमा छ ।’

बाराहीका अनुसार प्यानल इन्टरलकिङ भएका कारण सातदोबाटोतर्फ ४० मिटर बिग्रिएको आरई वाल पूरै भत्काउनुपरेको थियो ।

यस भागको मात्र माटो निकालेर प्यान जडान गरिएको हो । यो काम सकिएपछि सडक पिच गरिन्छ ।

‘आरई वालको काम सकेर बेस र सब–बेस राखी कालोपत्रको काम थालिन्छ,’ उनले भने, ‘आरई वाल र पुल जोड्ने गरी ‘एप्रोच स्ल्याब’ राख्ने काम बाँकी छ ।

यी काम वैशाखतिरै सम्पन्न भई जेठमा सञ्चालनमा ल्याइन्छ । असारअघि बर्खा लाग्नुअघि सञ्चालनमा आउँछ ।’

कोटेश्वरतर्फ आरई वाल निर्माणको काम पहिल्यै सकिएको थियो । यसतर्फ छेउमा प्यारापिट वाल बनाइँदै छ ।

निर्माणको काम लगभग सकिसकेको छ । अब रेलिङ पेभमेन्ट, रङरोगन आदि काम बाँकी भएको जनाइएको छ ।

ओभरपासमा अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

आवतजावतको संरचनासहित यो ५ सय ४० मिटर लामो बन्ने जनाइएको छ । यसको र्‍याम्प १०.२ मिटरसम्म अग्लो निर्माण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *