गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल

गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका-१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन्।

पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए।

पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका-१ स्याउली बजार जोडेको छ। सिग्देलले भने, ‘तनहुँतर्फको भाग पुलसँग जोडिएको छ।

पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ, केही समयभित्रै व्यवस्थापन गरी पुलको उद्घाटन गरिने छ।’

पुल निर्माणकोकाम युनाइटेड विल्डर्सले पाएको थियो। कुल २१० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो।

डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा २७ करोड रूपैयाँ लगानी भएको छ।

कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दुरीबाट यात्रा गर्न बाध्य थिए।

पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पर्थ्यो। पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *