जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार

सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जीपीएस) प्रणाली लागू गर्ने भएको छ ।

विगत लामो समयदेखि चर्चा हुँदै आएको तर हालसम्म लागू हुन नसकेको अवस्थामा अब भने सरकार तीव्रताका साथ लागि परेको हो ।

यातायात व्यवस्था विभागका अनुसार सम्पूर्ण सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली जडान गर्नेगरी काम अगाडि बढेको छ ।

सवारी साधनको नियमन तथा सवारी साधन दुर्घटनापश्चात् खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन जीपीएस प्रणाली अनिवार्य गर्न लागिएको विभागले जनाएको छ ।

जीपीएस प्रणाली जडान गर्न आवश्यक कार्यविधि बनाउनको लागि समिति बनाएर तयारी थलिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

उनले समितिले एक महिनाभित्रै प्रतिवेदन बुझाएपछि कार्यान्वयन गरिने बताए ।

‘जीपीएस प्रणाली मात्रै छैन । त्यसमा विभागले सार्वजनिक सवारी साधनलाई डिजिटललाइज गर्ने, डिजिटल भुक्तानी, डिजिटल टिकट,यातायात सुरक्षा र एफआर समेत समावेश गर्ने कुरा छन्,’ महानिर्देशक पोखरेलले भने, ‘विभागले भर्खरै कमिटी बनाएको छ ।

त्यो कमिटीले प्रतिवेदन दिएपछि कार्यान्वयनमा जान्छौँ ।’

महानिर्देशक पोखरेलका अनुसार समितिले प्रतिवेदन दिएपछि विभागले कार्यान्वयनमा लैजाने छ ।

समितिले दिएपछिको प्रतिवेदनको एक महिनाभित्र विभागले लागू गर्नसक्ने उनको  भनाइ छ ।

यातायात व्यवस्था विभाग सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखाका निर्देशक श्रीकान्त यादवले सार्वजनिक सवारी साधनबाट हुने दुर्घटना न्यूनीकरणका लागि सम्पूर्ण सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली जडान गर्न लागिएको बताए ।

उनले करिब एक वर्षअघि नै काठमाडौँ–पोखरा र काठमाडौँ–वीरगन्जको रुटमा चल्ने केही सवारीमा परीक्षणको रूपमा जीपीएस प्रणाली जडान गरिसकेको उल्लेख गरे ।

‘जीपीएस प्रणालीको प्रभावकारिताको विषय दुर्घटनाको समयमा मूल्याङ्कन हुन्छ । केही सवारी साधनमा मात्र यो प्रणाली जडान गरिएको छ ।

त्यसले मात्रै वास्तविक प्रभावकारिता हामीले नै मूल्याङ्कन गरेको अवस्था छैन’, निर्देशक यादवले भने, ‘अन्य देशका अभ्यास तथा विभिन्न अध्ययनलाई मध्यनजर गर्दै सार्वजनिक सवारीमा डिजिटल मैत्री यातायात सहितको जीपीएस प्रणाली लागू गर्ने तयारी छ ।

अन्य देशमा भएको प्रभावकार अनुरूप विभागले पनि प्रक्रिया अगाडी बढाएका छौँ ।’

सरकारले सार्वजनिक सवारी साधनमा जीपीएस लागू गर्ने प्रक्रिया अगाडि बढाउनु सकारात्मक भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

सवारी साधन दुर्घटना न्यूनीकरण गर्नको लागि सरकारले पहिला नै लागू गर्नु पर्ने भएपनि ढिला भएको उनको भनाई छ । उनले सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउने जीपीएस लागू गर्दा व्यवसायीहरू तयारी अवस्थामा रहेको बताए ।

‘यातायात व्यवसायीहरू जीपीएस प्रणाली जडान गर्न तयारी छौँ । जीपीएस,अनलाइन टिकट, डिजिटल भाडा लागू गर्न व्यवसायीहरू तयार छन्’, वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस खसेको घटनाको अध्ययन प्रतिवेदनले पनि जीपीएस लागू गर्न भनेको छ । प्रतिवेदनले सडकमा ‘एकीकृत सूचना प्रणाली प्रयोगमा ल्याउनु पर्ने भनेको छ । त्यही आधारमा जीपीएस प्रणाली अनिवार्य भएको छ ।’

  • डिजिटल भुक्तानी र अनलाइन टिकट

जीपीएस प्रणालीसँगै विभागले अनलाइन टिकटको समेत व्यवस्था गरी सार्वजनिक सवारी साधनलाई डिजिटल रूपमा व्यवस्थापन गर्ने तयारी गरेको महानिर्देशक पोखरेलले बताए ।

त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले जीपीएस प्रणालीसँगै सार्वजनिक यातायात क्षेत्रलाई डिजिटलाइज गर्नु आवश्यक रहेको बताए । उनले त्यसको लागि सरकारले वातावरण बनाउनु पर्नेमा जोड दिए ।

सरकारले जीपीएस प्रणाली लागु गरेसँगै यातायात व्यवसायीहरू डिजिटल भुक्तानी र अनलाइन टिकटमा जान तयार रहेको उनको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागु गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित र पहुँचयोग्य बनाउने घोषणा गरेको थियो ।

२०७७ सालमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायातको अनुगमन गर्न अनलाइन मोनिटरिङ सिस्टम लागू गरेका थिए ।

विशेष गरी लामा दूरीका सवारीमा लागू हुने गरी विभागले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम सुरु गरेको थियो ।

त्यस्तै, विभागले २०७८ मा काठमाडौँ–जनकपुर, काठमाडौँ वीरगन्ज र काठमाडौँ–पोखरामा चल्ने १०० वटा सार्वजनिक यात्रु वाहक सवारी साधनमा निःशुल्क जीपीएस डिभाइस जडान गरी सञ्चालनमा ल्याउने भनिए पनि प्रभावकारी कार्यान्वयन भएको छैन ।

सरकारले अघि सारेको राष्ट्रिय यातायात नीति,२०८१ मा समेत सार्वजनिक सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीले ट्राकिङ प्रणाली लागु गरिने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *