त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करारमा कार्यरत सरसफाइकर्मी कर्मचारीहरू तलब नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनका कारण आन्तरिक टर्मिनल क्षेत्रमा सरसफाइ प्रभावित बनेको सेवाग्राहीहरुले गुनासो गरेका छन्।
विमानस्थल प्रशासनका अनुसार, केही समयदेखि तलब नपाएका सरसफाइकर्मी कर्मचारीहरुले पहिले दैनिक एक घण्टा विरोध प्रदर्शन गर्दै आएका थिए।
तर आजदेखि उनीहरु बिहान आठ बजेदेखि आन्तरिक विमानस्थलका कार्यालय प्रमुखको कार्यालय अगाडि धर्ना बसेका छन्। उनीहरूले २०७५ सालमा भएको सम्झौताअनुसारको भुक्तानी हुनुपर्ने माग गरेका छन्।
विमानस्थल प्रमुख जगन्नाथ निरौलाले बिजपाटीसँग कुरा गर्दै अदालतको अन्तरिम आदेशअनुसार ज्यालादारी कर्मचारीलाई तलब भुक्तानी गर्नुपर्ने भएपनि नागरिक उड्डयन प्राधिकरणको संचालक समितिबाट निर्णय नआएकाले समस्या उत्पन्न भएको जानकारी दिए।
उनका अनुसार प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दुबैले सरसफाइकर्मीको मागलाई सकारात्मक रूपमा लिएको भए पनि संचालक समितिबाट निर्णय नभएसम्म तलब वितरण गर्न नसकिने अवस्था रहेको छ।
निरौलाले आन्दोलनरत कर्मचारीको समस्यालाई गम्भीरतापूर्वक लिइएको उल्लेख गर्दै समस्याको समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
सरसफाइकर्मीको आन्दोलनका कारण अहिले विमानस्थलको डोमेस्टिक टर्मिनल क्षेत्रमा फोहरको थुप्रो देखिन थालेको छ।
सेवाग्राहीहरुले विमानस्थलको सरसफाइ अवस्था प्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आन्दोलन चाँडै नटुंगिए सेवा प्रवाहमा थप अवरोध हुने संकेत देखिएको छ।