ठूला ईभी निर्माताको नजर भारततिर

विद्युतीय सवारीसाधन (ईभी) का लागि भारत प्रमुख बजार र उत्पादन केन्द्रका रूपमा विस्तार हुँदै गएको देखिन्छ ।

टाटाजस्ता स्थानीय कम्पनीका ईभीको बढ्दो प्रयोगसँगै पछिल्लो समय त्यहाँ विश्वका ठूला कम्पनीले आफ्ना उत्पादन केन्द्र खोल्ने र बजार विस्तारको प्रतिस्पर्धा तीव्र बनाएका छन् ।

टेस्ला र बीवाईडीजस्ता ठूला प्रतिस्पर्धी एकसाथ भारत प्रवेश गर्ने तरखरमा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बीवाईडीले तेलंगानाको हैदराबादमा ठूलो स्तरको उत्पादन केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ ।

टेस्लाले पनि मुम्बईमा सोरुम र महाराष्ट्रमै कारखाना खोल्न चाहेको छ ।

आफ्नो परियोजनाका लागि बीवाईडीले झन्डै ८५ हजार करोड भारतीय रुपैयाँ (करिब १० अर्ब अमेरिकी डलर) लगानी गर्ने अनुमान गरिएको छ ।

एनडीटीभीको समाचारअनुसार बीवाईडीले उक्त प्लान्टका लागि करिब ५ सय एकड क्षेत्रफलको जमिनमा निर्माण कार्य गर्ने योजना बनाएको छ ।

वार्षिक ६ लाख युनिट गाडी उत्पादन गर्ने क्षमतासहित सो प्लाट स्थापना हुनेछ ।

बीवाईडीले तेलंगाना राज्य सरकारसँगको लामो छलफलपछि हैदराबादमा कारखाना खोल्ने तयारी गरेको बताइएको छ ।

तेलंगाना सरकारले यस परियोजनाका लागि जग्गा उपलब्ध गराउनेलगायत अन्य सुविधामा पूर्ण समर्थनको आश्वासन दिएको बिजनेस स्ट्यान्डर्ड पोर्टलले जनाएको छ ।

भारतमा बीवाईडी उपलब्ध भए पनि कम्पनीले हालसम्म त्यहाँ कुनै प्लान्ट सञ्चालन गरेको थिएन ।

चीनबाट इलेक्ट्रिक भेहिकल आयात गर्दा उच्च भन्सार शुल्कका कारण गाडीको मूल्य महँगो पर्ने गरेको छ । यसले कम्पनीको बजार प्रतिस्पर्धा पनि सीमित बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय रूपमै म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्नाले लागत घट्ने र भारतको ईभी बजारमा बीवाईडीको प्रतिस्पर्धा बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

‘पछिल्ला दुई वर्षदेखि कम्पनीले भारतमा कारखाना स्थापनाका लागि विकल्प खोजेको भए पनि चिनियाँ लगानीमा गरिएको कडा नियमनका कारण योजना अघि बढ्न सकेको थिएन,’ बिजनेस स्ट्यान्डर्डमा पत्रकार प्रतीक शुक्लाले लेखेका छन्, ‘बीवाईडीले हैदराबादमा इलेक्ट्रिक बस सञ्चालन गरिरहेको ओलेक्ट्रा ग्रिनटेकसँग प्राविधिक साझेदारी गरेको छ ।’

भारतमा उत्पादन केन्द्रबाहेक बीवाईडीले २० गिगावाटको ब्याट्री निर्माण प्लान्ट पनि स्थापना गर्ने योजना बनाएको छ ।

हाल भारतमा महिन्द्रा, टाटा, ओला इलेक्ट्रिकजस्ता स्थानीय ईभी निर्मातासँगै भारतकै जेएसडब्लू र चीनको एमजी मोटरबीचको ज्वाइन्ट भेन्चर (जेभी), कोरियाली र जापानी कार निमार्ताहरूका उत्पादन केन्द्र सञ्चालनमा छन् ।

बीवाईडी, मारुती सुजुकी, ह्युड्याई, किया, भिनफास्टजस्ता ब्रान्डका विभिन्न मोडल भारतीय बजारमा उपलब्ध छन् । टीभीएस मोटर, बजाज अटो, हिरो मोटोकरले भने दुईपांग्रे ईभी बिक्री गर्दै आएका छन् ।

सन् २०२३ मा भारतमा १५.३ लाख ईभी बिक्री भएको भारतीय सवारी डिलरहरूको संस्था फेडेरेसन अफ अटोमोबाइल डिलर्स एसोसिएसन (फाडा) को तथ्यांक छ । यसमा दुईपांग्रे, तीनपांग्रे, ई–एम्बुलेन्स, ई–ट्रक र ई–बस समावेश छन् ।

सन् २०२४ मा यात्रुबाहक कारको बिक्री अघिल्ला वर्षको तुलनामा सबैभन्दा कम ४ प्रतिशत मात्रै वृद्धि हुँदा पनि समग्र ईभीको बजार उल्लेख्य बढेको थियो । गत वर्ष फेब्रुअरीसम्म भारतमा १२ हजार १ सय ४६ वटा चार्जिङ स्टेसन सञ्चालनमा थिए ।

भारत सरकारले सन् २०३० भित्र देशभरका सवारीमध्ये ३० प्रतिशत ईभी हुने प्रतिबद्धता जनाउँदै आएको छ ।

ईभीलाई आवश्यक लिथियम–आयन ब्याट्री निर्माणका लागि आवश्यक पदार्थ तथा उपकरणहरूको आयातमा भन्सार छुट दिने सरकारले बजेटमा घोषणा गरेको छ ।

सन् २०१९ मै फास्टर एडप्सन एन्ड म्यानिफ्याक्चरिङ अफ इलेक्ट्रिक भेहिकल इन इन्डिया (फेम) नामक अनुदान कार्यक्रममार्फत ईभी क्षेत्रमा लगानी र प्रोत्साहन गर्दै आएको थियो ।

सन् २०२४ बाट प्रधानमन्त्री इलेक्ट्रिक ड्राइभ रिभोलुसन इन इन्नोभेसन भेहिकल इन्हान्समेन्ट (ई–ड्राइभ) स्किम लागू गरिएको छ ।

भारतका सडक यातायात तथा राजमार्गमन्त्री नीतिन गडकरीले सन् २०३० सम्ममा भारतीय ईभी बजारको आकार २० लाख करोड रुपैयाँ पुग्ने अनुमान गरेका छन् ।

यसले करिब ५ करोड रोजगारी सिर्जना गर्ने उनको भनाइ छ ।

भारतमा राज्य सरकारहरूले पनि ईभीको प्रयोग प्रवर्द्धनका लागि विभिन्न नीतिगत पहल अवलम्बन गर्न थालेका छन् । हालै मात्र महाराष्ट्र सरकारले ईभीमा ६ प्रतिशत मोटर सवारी कर नलगाउने मुख्यमन्त्री देवेन्द्र फड्नभिसको घोषणा छ ।

महाराष्ट्रले ३० लाख भारतीय रुपैयाँभन्दा माथि मूल्य भएका ईभीमा बिक्री कर नलगाउने निर्णय गरेको इकोनमिक टाइम्सले जनाएको छ ।

महाराष्ट्रमा अमेरिकी ईभी निर्माता टेस्लाले आफ्नो पहिलो सोरुम खोलेर आयातित गाडी बिक्री गर्ने र उत्पादन केन्द्रसमेत स्थापना गर्ने योजना अघि सारेको छ । त्यहाँ अहिले महिन्द्रा र टाटाका कारखाना सञ्चालनमा छन् ।

ह्युन्डाई मोटर र टोयोटाले पनि ईभी प्लान्टका लागि महाराष्ट्रमै लगानी गरेका छन् । टेस्लालगायत कम्पनीका नयाँ कारखानाले महाराष्ट्रलाई ईभीको केन्द्र बनाउने मुख्यमन्त्री फड्नभिसको अपेक्षा छ ।

‘टेस्लाले आफ्नो बिक्रीमा आएको गिरावट र सेयर मूल्य निरन्तर घटिरहेका बेला भारतलाई निकै आशावादी नजरले हेरिरहेको छ,’ इकोनमिक टाइम्सले लेखेको छ, ‘तर टेस्लाको प्रमुख प्रतिस्पर्धी बीवाईडीले तेलंगानामा प्लान्ट स्थापना गरेर भारतीय बजारमा प्रवेश गर्दा टेस्लाका लागि त्यो ठूलो चुनौती हुन सक्छ ।’

भारतीय ईभी बजारमा सरकारको प्रोत्साहन र प्रमुख कम्पनीहरूको बजार विस्तारले दिगो तथा हरित यातायाततर्फको अग्रसरतालाई भने बल पुग्ने विश्लेषण भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *