स्कुटर ट्रकमा ठोक्कियो

विराटनगरमा वडा सदस्यले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा यही फागुन ११ गते राति ९:२० बजेतिर ठोक्किएको थियो ।

अनुसन्धानबाट लामिछानेले मापसे (मादक पदार्थ सेवन) गरेर स्कुटर चलाएको पत्ता लागेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर–७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३–००१ ख १७१२ नम्बरको ट्रकमा स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

होटखोलाबाट शनिहाटतर्फ आउँदै गरेको स्कुटर ट्रकको पछाडिबाट ठोक्किएर दुर्घटना हुँदा वडा सदस्य लामिछाने र स्कुटरको पछाडि सवार विराटनगर–७ का ५० वर्षीय किरण तिवारी घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो ।

तिवारीको उपचारकै क्रममा आइतवार बिहान ६:३५ बजेतिर मृत्यु भएको डीएसपी जोशीले बताए ।

 स्कुटर चालक लामिछानेको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा उनले मापसे गरेर स्कुटर चलाएको यकिन भएको प्रहरीको भनाइ छ ।  मापसे गरेर सवारीसाधन चलाउन पाइँदैन ।

प्रहरीका अनुसार स्कुटर, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *