कुलेखानी ड्याममुनिको सिमखोलामा बेलिब्रिज राखिने

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त बनाएको कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा बेलिब्रिज बन्ने भएको छ ।

बेलिब्रिज निर्माणका लागि बाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सोमबार टेन्डर आह्वान गरेको छ ।

बेलिब्रिज राख्न र पहुँच मार्ग निर्माण गर्नका लागि एक करोड ७९ लाखको टेन्डर आह्वान गरिएको हो ।

‘कुलेखानी ड्याममुनिको सिमखोलामा भीमफेदी गाउँपालिका–६ स्थित माण्डु खोलामा रहेको बेलिब्रिज निकालेर हाल्ने छौं’, यातायात पुर्वाधार निर्देशनालय हेटौंडाका प्रवक्ता चन्द्रदेव भट्टले भने ।

माण्डु खोलाको बेलिब्रिज निकालेर ल्याउने र सिमखोलामा उक्त पुल अड्याउनका लागि निर्माण गरिने पक्की टेको र पहुँच मार्ग निर्माण गर्न टेन्डर निकालिएको उनको भनाइ छ ।

माण्डु खोलामा पक्कि पुल निर्माण गरेर सञ्चालनमा आइसकेकाले त्यसस्थानमा रहेको बेलिब्रिज प्रयोगविहीन अवस्थामा छ ।

पूर्वाधार निर्देशनालयका एक प्राविधिकका अनुसार सिमखोलामा करिब ५० मिटर लामो बेलिब्रिज हालिँदै छ ।

‘वर्षायाम सुरु हुनुअघि नै पुल राख्ने काम र पहुँच मार्ग निर्माण गरिसक्छौं’, यातायात पुर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नविन सिंहले भने ।

वर्षायाम अगावै सिमखोलामा पुल निर्माण र पहुँच मार्ग बनेन भने हेटौंडाबाट काठमाडौं भित्रिने सबै छोटो वैकल्पिक मार्ग अवरुद्ध हुने छ ।

भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो ।

अहिले खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको छ ।

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो मार्गका रुपमा रहेको फाखेल र सिस्नेरीको बाटो प्रयोग गर्नका लागि यो पुल भएर आवतजावत गर्नु पर्छ ।

दैनिक रुपमा यस बाटोमा मोटरसाइकल र साना सवारी गरी करिब ३ हजारभन्दा बढी गुड्ने गरेका छन् ।

इन्द्रसरोवर गाउँपालिका–२ का वडाध्यक्ष सुमन श्रेष्ठले तत्कालका लागि बेलिब्रिज हालेर सवारी आउजाउमा सहज गरिए पनि दीर्घकालीन समस्या समाधानका लागि पक्की पुलको आवश्यकता रहेको बताए ।

‘कुलेखानीको ड्यामबाट हुनसक्ने सम्भावित क्षतिलाई समेत मध्यनजर गरी अब पक्की पुल निर्माण गर्नुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *