भारततिर रेलयात्रामा जानुभएको छ भने पक्कै ट्राभलिङ टिकट एक्जामिनर (टीटी) सँग जम्काभेट भएकै होला ।
पूर्वतिर आउनुभयो भने रेलमा जस्तै बसमा पनि टीटीसँग भेट हुन सक्छ ।
सार्वजनिक यातायातको पारदर्शिता बढाउन झापाको सगरमाथा यातायात कम्पनीले यात्रुलाई टिकट मात्रै दिँदैन, टिकट जाँच गर्न टीटी पनि खटाउने गरेको छ ।
गत शनिबार विराटनगरबाट बिर्तामोड जाँदै गरेका भरत यादव जब इटहरी पुगे, उनले कन्डक्टरलाई अढाई सय रुपैयाँ दिएर डेढ सय र एक सय रुपैयाँका छुट्टाछुट्टै दुई वटा टिकट लिए ।
यादव अचम्मित भए । उनले यसअघि कुनै सार्वजनिक बसमा यस्तो अनुभव गरेका थिएनन् ।
‘बसका यात्रुलाई टिकट दिनु राम्रो कुरा हो,’ यादवले सुनाए, ‘यसले पारदर्शिता मात्र होइन, यात्रुका हक र सुरक्षालाई पनि सुनिश्चित गर्छ ।’
बसभित्रै प्रस्ट देखिएको छ, टिकट नदिएको खण्डमा निःशुल्क यात्रा गर्नुहोला । टिकट अनिवार्य लिनुहोला अन्यथा दुर्घटना बिमा पाइने छैन ।
सगरमाथा यातायात सेवाले यात्रुलाई टिकट दिने मात्र होइन, टिकट नदिने कन्डक्टरलाई कारबाही गर्न ‘टीटी’ समेत खटाएको छ । ‘हामीलाई बेलाबेलामा टीटीले छड्के जाँच गर्छन् ।
यात्रुबाट भाडा बढी लिएको, टिकट नदिएको भेटे कारबाहीका लागि सिफारिससमेत गर्छन्,’ २६६९ नम्बरको बसका कन्डक्टर रोशन काफ्ले भन्छन् ।
सुरुवातदेखि नै टीटी खटाउन थालेकाले यातायात व्यवसायी र यात्रु सबै सचेत रहेको पाइएकाले कसैलाई कारबाही गर्नु नपरेको कम्पनीको दाबी छ ।
टीटीका रूपमा दीपक कटुवाल, विष्णु मैनाली र जयकिसन थापालाई कम्पनीले खटाएको छ ।
उनीहरू काँकडभिट्टाबाट विराटनगर, धरानसम्म पुगेर यात्रुको टिकट जाँच्न बसभित्र सुटुक्क चढ्छन् ।
जुन कुरा बसका चालक, सहचालक र कन्डक्टरसमेतलाई पत्तो हुन्न ।
‘हामी बसका कर्मचारीलाई थाहै नदिई सुटुक्क बसमा पसेर टिकट जाँच्छौं,’ टीटी विष्णु मैनाली भन्छन्, ‘कसैले यात्रुबाट भाडा असुलेर टिकट दिएको छैन भने कारबाहीका लागि सिफारिस गर्छौं ।’
२०७३ कात्तिक १२ मा ११ वटा बसबाट सेवा सुरु गरिएको थियो । हाल काँकडभिट्टा–विराटनगर रुटमा २८ र काँकडभिट्टा–धरान रुटमा ६ वटा बस नियमित रूपमा गुडिरहेको सगरमाथा यातायातका अध्यक्ष नवीन कोइरालाले जनाए ।
पूर्ण राजस्व छुटमा आयात गरिएका कारण यो कम्पनीले पारदर्शितालाई प्राथमिकता दिँदै आएको छ ।
अपांगता भएका, ज्येष्ठ नागरिक, बिरामी र विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरेको छ ।
‘गाडीभित्र निःशुल्क वाइफाई, पिउने पानीको सुविधा पनि छ,’ कोइराला थप्छन्, ‘यात्रुलाई बीचबाटोमा अलपत्र पारिन्न । गन्तव्यमा पुराएरै मात्रै छाडिन्छ ।’
अब चाँडै डिजिटल भुक्तानीका लागि ‘क्यूआर कोड’ सिस्टम लागू गर्न लागिएको छ, जसले यात्रुलाई थप सहज बनाउनेछ ।
‘हाम्रो उद्देश्य पारदर्शिता मात्र होइन, यात्रुको सेवा, सुविधा र सन्तुष्टि नै हो,’ कम्पनीका निर्देशक प्रवीण थापाले भने ।
सार्वजनिक यातायात सुधारको विषयमा बहस भइरहेका बेला सगरमाथा यातायातको यो कदम उदाहरणीय रहेको उपभोक्ता जागरण अभियानका केन्द्रीय सदस्य मोहन काजी न्यौपाने बताउँछन् ।
उनका अनुसार सार्वजनिक यातायातमा पारदर्शिता आवश्यक छ ।
यात्रुलाई अनिवार्य टिकट दिनु, टिकट पाए नपाएको भनेर पुनः जाँच्नु र उनीहरूको सुविधा सुनिश्चित गर्नु सकारात्मक काम रहेको न्यौपानेले जनाए ।
‘अन्य यातायात कम्पनीले पनि यो प्रणाली अपनाउन जरुरी छ,’ उनले भने ।
Post Views: 194