गत बुधबार दिउँसो खानेपानीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भयो ।
गत असोजमा लगातार तीन दिन परेको पानीझैँ बबरमहल क्षेत्र डुबानमा परेको देखिन्थ्यो । त्यहाँ मेलम्चीको खानेपानी पाइप फुटेको थियो ।
काठमाडौँमा उपत्यकामा विभिन्न समयमा खानेपानी र ढलका पाइपहरू फुट्ने समस्या नयाँ होइन ।
मेलम्चीको पानी काठमाडौँमा ल्याइएसँगै खानेपानीका पाइप फुट्ने समस्या बढेको छ ।
२०७७ फागुन २२ गते फ्लसिङ टनेलमार्फत मेलम्चीको पानी सुन्दरीजलमा खसालिएको थियो ।
२०७७ चैत १५ गते काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले चुच्चेपाटीको महाँकाल चौरमा भण्डारण गरिएको पानीको चाबी (पानीको भल्भ) खोलेर वितरण शुभारम्भ गरेको थियो ।
शुभारम्भसँगै काठमाडौँ उपत्यकामा मेलम्चीको १७ करोड लिटर पानीको वितरण भइरहेको छ ।
केयूकेएलले बिछ्याएको पाइप फुट्नु सामान्यजस्तै हुन थालेको छ । बारम्बार समस्या दोहोरिरहँदा पनि सम्बन्धित निकायले दिगो समाधान गरेको देखिँदैन ।
मेलम्ची खानेपानीको २० इन्च मोटो फलामे पाइप फुट्दा बबरमहल क्षेत्र वरिपरि रहेका सरकारी र निजी भवन डुबानमा परेका थिए ।
उक्त पाइप फुटेको चार घण्टासम्म आयोजनाले पानी बन्द गर्न नसक्दा सो क्षेत्र डुबानमा परेको थियो ।
केयूकेएलका अनुसार उक्त घण्टामा ४० लाख लिटर पानी खेर गरेको थियो ।
बुधबारको त्यो दुर्घटनाबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षतिसमेत भएको थियो ।
यसबाट सरकारी पूर्वाधार क्षेत्रमा काम गर्ने प्रणाली र गुणस्तरमा गम्भीर प्रश्न उठेको छ ।
साथै पूर्वाधार क्षेत्रमा काम गर्ने सरकारी निकायबिच आपसी समन्वय हुन नसकेको देखिन्छ ।
यसले पनि सरकारी निकायहरूबिच समन्वय र समझदारीविना काम गर्दा समस्या भएको देखाएको छ ।