सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल डिभिजनले पहिलो प्राथमिकतामा राखेर सो सडक मर्मत थालेको हो ।
उनले भने, ‘अहिले हामीले बीपी राजमार्गलाईनै पहिलो प्राथमिकता दिएका छौं, आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको श्रोत साधनको अधिकतम उपयोग गरी काम भई रहेको छ ।’
वर्षायाममा सके सम्म यातायात अवरुद्ध हुन नदिने लक्ष्य रहेको भन्दै डिभिजन प्रमुख योगेशले आवश्यक परे रातीको समयमा समेत काम गरी मर्मतलाई चुस्त र तीव्र पारिने बताए ।
गत असोजमा बाढीसँगै आएको पहिरोले सो राजमार्गमा क्षति पुर्याएको सडकमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरी मर्मत तथा पुननिर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिइसकेका छन्।
गत शनिबार मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजनका प्रमुख लगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुननिर्माणमा श्रोत अभाव हुन नदिने भन्दै मर्मत एवम् पुननिर्माणलाई तीव्रता दिन निर्देशन दिएका थिए ।