अमलेखगन्ज डिपोले बाँड्न थाल्यो पाइप लाइनको पेट्रोल

पेट्रोल र मट्टितेलको सफल परीक्षणपछि रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट औपचारिक रूपमा पेट्रोल वितरण थालिएको छ ।

दुई पटक गरी साढे १५ हजार किलोलिटर पेट्रोल र १ पटक १ हजार किलोलिटर मट्टितेल आयात गरेर परीक्षण गरेको आयल निगमले सोमाबरदेखि औपचारिक बिक्रीवितरण थालेको हो ।

पाइप लाइनबाट आयातित पेट्रोल पोखरा र विराटनगर पठाइएको निगमका अमलेखगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले जनाए ।

‘सोमबार औपचारिक रूपमा पोखरालाई ७ ट्यांकर र विराटनगरलाई १० ट्यांकर पेट्रोल पठाएका छौं ।

अब दैनिक वितरण सुरु भएको छ,’ आचार्यले भने । एक ट्यांकरमा २० हजार किलोलिटर पेट्रोल अट्छ ।

१७ ट्यांकरबाट करिब ३ लाख ४० हजार लिटर पेट्रोल वितरण गरिएको उनको भनाइ छ ।

यसअघि डिजेल मात्रै आयात भएको पाइप लाइनबाट गत असोज १७ मा ५ हजार ५ सय किलोलिटर पेट्रोल ल्याएर परीक्षण गरिएको थियो ।

त्यसपछि १ हजार किलोलिटर मट्टितेल पनि ल्याइएको थियो । त्यसपछि पुनः १० हजार किलोलिटर पेट्रोल ल्याएर परीक्षण भएको थियो ।

दोस्रो चरणअन्तर्गतको डिपो निर्माण, लोडिङ बे, प्रयोगशालालगायत निर्माणको काम सम्पन्न भएपछि सोमबारदेखि औपचारिक वितरण सुरु गरिएको आचार्यले बताए ।

तर पाइप लाइनबाट दैनिक पेट्रोल भने आउने छैन । पाइप लाइनबाट एक घण्टामा ३ सय किलोलिटर पेट्रोल आयात गर्न सकिन्छ ।

तर अमलेखगन्जमा १७ हजार ४ सय ९० किलोलिटर क्षमताको पेट्रोल ट्यांक छ ।

‘दैनिक आयात गर्दा मौज्दात गर्न समस्या हुन्छ । त्यसकारण ट्यांकीमा ३/४ हजार किलोलिटर कम भएपछि आयात गरेर मौज्दात गर्छौं, वितरण भने दैनिक हुन्छ,’ आचार्यले भने ।

बहुप्रतीक्षित नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २०७६ भदौ २४ बाट औपचारिक रूपमा उद्घाटन भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन उद्घाटन गरेका थिए ।

पहिलो चरणअन्तर्गत डिजेल आयात भइराखेको छ । पाइप लाइनले ढुवानीमा हुने प्राविधिक नोक्सानी अन्त्य गरेको निगमको दाबी छ ।

दोस्रो चरणअन्तर्गत पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने निगमको लक्ष्य थियो ।

त्यसका लागि इन्डियन आयल कर्पोरेसन (आईओसी) र निगमले संयुक्त लगानी गर्ने गरी सम्झौता भएको थियो ।

निगमले १ अर्ब ५४ करोड र आईओसीले ७५ करोड भारु लगानी गर्ने जनाइएको छ ।

उक्त बजेटमा दुईवटा पेट्रोल ट्यांकी, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, मिश्रित इन्धन राख्न दुईवटा ट्रान्समिक्स ट्यांकी, डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्यांकीलगायत पूर्वाधार निर्माणको सम्झौता छ ।

ट्यांकी, रिफिलर, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत निर्माणको जिम्मा आईओसीले लिएको थियो ।

पूर्वाधार निर्माण गर्न आईओसीले भारतीय कम्पनी लिखिता इन्टरनेसनललाई दिएको थियो । परियोजना निर्माणको काम २०२४ मार्चसम्मै सक्ने सम्झौता थियो ।

‘पटक/पटकको ताकेता र निर्देशनपछि बल्ल निर्माण सकियो ।

सोहीअनुसार सफल परीक्षण पनि भयो ।

तर सञ्चालनमा फेरि ढिलाइ भयो,’ निगम स्रोत भन्छ, ‘निगमले पुसबाट पाइप लाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्ने तयारी गरेको थियो, तर सफल भएन ।’

उद्घाटनका लागि निगमले धेरै पटक समय भारतसँग समय मागे पनि पनि उताबाट मिति तोक्न ढिलाइ भएको स्रोतको भनाइ छ ।

अमलेखगन्ज इन्धन डिपो साढे तीन दशकदेखि म्यानुअलमा सञ्चालन भइरहेको छ ।

पाइप लाइनबाट पेट्रोल आएसँगै पाइप लाइनबाट ‘रिसिभ’ गरी अन्य कार्यालयमा पठाउँदा डिजिटल (अटोमेसन) मार्फत पठाइएको छ ।

‘स्थानीय तहमा पुरानै प्रविधिबाट वितरण गरिएको छ । तर पाइप लाइनबाट रिसिभ गरेर डिजिटल प्रक्रियाबाट लोड भएको छ,’ आचार्यले भने, ‘अब एक–दुई महिनामा पूर्ण अटोमेसनमा जान्छौं ।’

लोडिङमा पूर्ण अटोमेसन गर्न २४ वटा ‘लोडिङ वे’ निर्माण गरिएका छन् । २४ वटा ‘लोडिङ वे’ मा ३६ वटा फिलिङ पोइन्ट राखिएको छ । यसमध्ये पेट्रोलको ७ वटा बटम लोडिङ र ८ टम लोडिङ गर्न सकिन्छ ।

डिजेलको ४ वटा बटम र १४ वटा टप लोडिङ गर्न सकिन्छ । मट्टितेलको एउटा बटम लोडिङ रहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *