सडक विस्तारअन्तर्गतको योजनाका लागि सरकारबाट लिएको ३३ लाख रूपैयाँ लिएर उपभोक्ता समितिका अध्यक्षले हिनामिना गरेका छन् ।
काठमाडौंको कोटेश्वरमा टोलको सडक विस्तारअन्तर्गतको रिटेनिङ वाल निर्माणका लागि सरकारबाट प्राप्त बजेट शुभकामना मार्ग टोल सुधार समितिका अध्यक्ष भगवान गिरीले एकलौटी रूपमा हिनामिना गरेका हुन् ।
टोलमा सडक विस्तार आयोजनाका लागि सहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरण र उपभोक्ता समितिबिच २७ भदौ ०७३ मा सम्झौता भएको थियो ।
१० मंसिरमा आयोजना सम्पन्न गरिसक्ने गरी कन्टिन्जेन्सी समेत ५९ लाख १८ हजार ३८६ रुपैयाँ लागत सम्झौता भएको थियो ।
विभिन्न सर्त तोकेर तीन किस्तामा भुक्तानी हुने गरी उपभोक्ता समिति अध्यक्ष गिरी र प्राधिकरणका कायममुकायम जिल्ला आयुक्त रामप्रसाद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
यही योजनाको भुक्तानीका लागि पेस्कीस्वरूप प्राप्त रकम गिरीले हिनामिना गरेका हुन् ।
उपभोक्ता समितिका सचिव नारायण गौतमले योजनाको काम भएको बताएका छन् । ‘काम भएको सम्बन्धमा ठीक छ ।
तर, यसका लागि भुक्तानी भएको रकमबिचमा हिनामिना भएको हो । उपभोक्ता समितिका अध्यक्षनै ठेकेदार हो । उहाँले रकम लिनुभो ।
तर, उहाँले श्रमिक, कामदार, निर्माण सामग्री ल्याएको ठाउँमा रकम भुक्तानी दिनुभएन,’ उनले नयाँ पत्रिकासँग भने, ‘यस विषयमा सम्बन्धित निकायमा छलफल पनि भएको छ ।’
वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीले भने यो वडासँग मात्र सम्बन्धित नरहेको बताए । ‘सम्बन्धित निकायसँग डिल भइरहेको होला ।
सम्बन्धित समितिसँगै बुझ्नुपर्ला । वडासँगै त्यस्तो केही छैन,’ उनले भने ।