निगमको न्यारोबडी मर्मत अन्योलमा

करिब एक महिनादेखि ग्राउन्डेड नेपाल वायुसेवा निगम (नेवानि)को न्यारोबडी जहाजको सी–चेक अन्योलमा परेको छ ।

निगम व्यवस्थापनले उडान आवर सकिएर २० पुसदेखि ग्राउन्डेड ‘९ एन–एकेडब्लु कलसाइन’को जहाज अझै मर्मत–सम्भारका लागि चीन पठाउन सकेको छैन ।

निगमले न्यारोबडी सी–चेकका लागि चिनियाँ कम्पनी चाइना साउदर्नलाई एमआरओ (मेन्टेनेन्स, ओभरहल, अर्गनाइजेसन) छनोट गरी २५ पुसमा नियुक्त गरे पनि जहाज अझै मर्मतमा पठाउन नसकेको हो ।

जहाज मर्मतका लागि १३ माघमा चीन पठाउने तालिका तय गरिएको थियो ।

तर, निगम व्यवस्थापनले सो दिन पनि जहाज चीन पठाउन सकेन ।

चिनियाँ नयाँ वर्ष सुरु भएकाले जहाज पठाउन नसकेको निगमका टेक्निकल प्रवक्ता मनोजकुमार शाहले बताए ।

अब २० माघमा चीन पठाउन लागेको उनको भनाइ छ ।

निगम व्यवस्थापनले विधि र प्रक्रिया मिचेर आफूखुसी एमआरओ छनोट गरी जहाज मर्मतमा पठाउन लागेको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) रुष्ट बनेको थियो ।

नेपाल नागरिक उड्डयन नियमावली, २०५८ को नियम २८ तथा ‘नेप्लिज सिभिल एयर वर्दिनेस रिक्वायरमेन्ट्स (एनसिएआर)को च्याप्टर डी.१’ अनुसार जहाज मर्मत–सम्भार कम्पनीले प्राधिकरणबाट एप्रुभल लिएको हुनुपर्छ ।

तर, निगमले चाइना साउदर्नलाई एमआरओ छनोट गरी क्यानबाट अनुमोदन गराएको थिएन ।

एमआरओ अनुमोदन नै नगराई उडानको अनुमति मागेको थियो । खासमा, क्यानबाट एप्रुभल लिएपछि मात्रै बल्ल दुईपक्षीय सम्झौता हुनुपर्ने थियो ।

नियामकलाई बाइपास गरेर मर्मत कम्पनी नियुक्त गरी जहाज पठाउन लागेको भन्दै क्यानले सुरुमा जहाज चीन पठाउने अनुमति दिन आनाकानी गरेको थियो ।

‘नियामक निकायले अनुमति दिइसकेको छ, जहाज आइतबार चीन पठाउने तयारी थियो,’ निगम स्रोत भन्छ, ‘तर, आइतबार पनि जहाज चीन पठाउन नसक्नुमा व्यवस्थापनकै कमजोरी देखिन्छ ।’

चीनमा नयाँ वर्ष एक हप्तासम्म मनाइने हुँदा २० माघमा पनि जहाज पठाउने सम्भावना कम देखिन्छ ।

दुई वर्षअघि नै जहाजको सी–चेक तालिका तय हुने भए पनि निगम व्यवस्थापनले समयमै एमआरओ छनोट गरेर मर्मत–सम्भारमा पठाउन नसक्दा जहाज ग्राउन्डेड गरेर राख्नुपरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *