आज सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गरिँदै

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा सुरुङमार्ग शुक्रबार ब्रेक थ्रु हुँदैछ ।

एक हजार एक सय २६ मिटर लामो सुरुङमार्ग ब्रेक थ्रुका लागि मुख्य टनेल खनेर एक दशमलव पाँच मिटर मात्रै बाँकी राखिएको छ ।

शुक्रबार साढे एक मिटरको सो भागलाई प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्लास्ट गरिने कार्यक्रम छ ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित अन्य मन्त्री तथा सांसदहरूको पनि सहभागिता रहनेछ ।

सुरुङमार्ग निर्माण गर्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाखमा ठेक्का लिएको थियो ।

सुरुङमार्गको तीनवटै बाइपासको ब्रेक थ्रु भने पुसको पहिलो साताअगाडि नै भएको थियो । त्यसपछि  मुख्य टनेलको काम तीव्र पारिएको थियो ।

आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार सुरुङभित्र केही समस्या आए बाइपासबाट निस्कन मिल्ने गरी तीनवटा बाइपास बनाइएको हो ।

तेस्रो र पहिलो बाइपासको ब्रेक थ्रु २६ भदौ तथा ४ असोजमा भएको थियो भने दोस्रो बाइपासको ब्रेक थ्रु गत ७ पुसमा गरिएको थियो ।

पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको एक सय ६१ र तेस्रोको एक सय ३० मिटर रहेको छ ।

सिद्धार्थ राजमार्ग भएर साना–ठुला दैनिक हजारौँ सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा,  बागलुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लाहरूमा ओहोरदोहोर गर्छन् ।

शुक्रबार ब्रेक थ्रु हुन लागेको सिद्धबाबा सुरुङमार्गको बुधबारसम्मको प्रगति करिब ४० प्रतिशत रहेको छ ।

आयोजनाका अनुसार बुधबारसम्म सुरुङमार्गको भौतिक प्रगति ४० दशमलव १८ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ३९ दशमलव ९० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *