नारायणीमा डोजर चलाइयो

नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका १० र ११ को सिमाना भएर बग्ने नारायणी नदीको पानीमाथि डोजर चलाइएको छ।

नारायणी नदीले वर्षामा बहाब परिवर्तन गरी चितवनतिर बगेर नवलपुर क्षेत्र सुक्खाग्रस्त भएपछि नदीमा डोजर चलाएर पानीको बहाब परिवर्तन गरी नवलपुर ल्याउन लागिएको हो।

जिल्ला समन्वय समितिको पहलमा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, पत्रकारलगायतको उपस्थितिमा नारायणीको धार परिवर्तन गर्न लागिएको हो।

नारायणीको उत्खनन धेरै हुँदा नदी गहिरिएर दक्षिणी भँगालो (चितवन क्षेत्र)मा पानीको बहाब धेरै हुँदा उत्तरी भँगालो (नवलपुर क्षेत्र) भने हिउँद लागेलगत्तै सुक्खाग्रस्त हुँदै गएको छ।

जसका कारण मानिस मरेर जलाएको खरानी बगाउन र दाहसंस्कारपछि नुहाउन तथा सरसफाइ गर्न निकै समस्या परेको स्थानीयले गुनासो गर्ने गरेका छन्।

‘कोही मरेपछि मलामी जाँदा गाली मात्र पाइन्छ, त्यसैले सकेसम्म मलामी नै जान नपरे हुन्थ्यो भन्ने लाग्छ,’ गैँडाकोटका वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले भने।

‘मलामी गइहाले पनि म त सहभागी भएर फर्किहाल्छु, नत्र जनप्रतिनिधि भएर नदी सुक्खा हुँदा पनि चुप लागेर बसेको भन्दै स्थानीयले गाली गरेर बस्न दिन्नन्।’

नदीको धार परिवर्तनले घडियाल गोहीको वासस्थान नै लोप हुँदै गएको छ।

गैँडाका लागि आहाल खेल्ने पानीको समेत समस्या भएको संरक्षणकर्मीले बताएका छन्।

नारायणीको उत्तरी भँगालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्या–पर्यटनका गतिविधि सँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई समेत यसले गम्भीर असर पार्ने गैँडा संरक्षण समन्वय समिति नवलपुरका अध्यक्ष विष्णु अधिकारीले बताए।

उत्तरी भँगालोमा नदीको पानी कम हुँदा निकुञ्जका वन्यजन्तु सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्छन्।

यसले मानव–वन्यजन्तु द्वन्द्व थप बढ्ने गैँडाकोटका अध्यक्ष सुवेदीले बताए।

चितवनतर्फ विकास निर्माण तथा नारायणी नदीको तटबन्धका लागि सेतीदेवी र मजुवा सामुदायिक वन आसपास अत्यधिक मात्रामा नदी उत्खनन गर्दा गहिरिएर नदीको बहाब दक्षिण भँगालोतर्फ सोझिएको जिल्ला समन्वय प्रमुख बाबुराम विश्वकर्माको भनाइ छ।

तर, मध्यवर्ती (नवलपुर क्षेत्र)को अप्ठ्यारो कानुनका कारण नदीजन्य पदार्थ उत्खनन गर्न नपाउँदा उत्तरी भँगालो अग्लो भएर पानी पास हुन नसकेको विश्वकर्माले बताए।

नारायणघाटमा रहेको नारायणी नदीको पुलदेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी नदी दुईवटा भँगालोमा बाँडिएर बगेको छ।

उत्तरी र दक्षिणी भँगालो अमलटारीघाटमा आएर मिसिने हुँदा अमलटारीदेखि शिख्रौलीसम्मको उत्तरी भँगालो लगभग सुक्खा भएको छ।

यसले नदी आश्रित वन्यजन्तु, जलचर मात्रै नभएर नदीबाट जीविकोपार्जन गर्ने ठुलो संख्याका सर्वसाधारण समस्यामा परेको देखिन्छ।

नारायणीको उत्तरी भँगालोमा पानी सुक्दै गएपछि नदीमा माछा मारेर जीविकोपार्जन गर्ने बोटे, माझी, मुसहर समुदाय पनि ठुलो समस्यामा परेका छन्।

दुईवटा डोजरले कम्तीमा एक हप्ता काम गरेर चितवनतर्फ बगेको नारायणीको एकतिहाइ पानी नवलपुर क्षेत्रमा बग्ने बनाउने गरी काम थालिएको छ।

कतिपयले भने अहिले यसरी डोजर लगाएर नदीको धार परिवर्तन गराउँदा वर्षायाममा पनि नारायणीले नवलपुर क्षेत्रकै धार समात्यो भने थेग्न नसक्ने गरी क्षति हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

जिल्ला विपत् व्यवस्थापन समितिबाट निर्णय गराएर नदीमा डोजर लगाउन पुगेको टोलीले भने त्यसरी आत्तिन नपर्ने बताएको छ।

यो हिउँदे कुलोजस्तो भएकाले वर्षामा नदीको वेगले लिने धार फरक पर्ने बताउँछन् जिल्ला समन्वय प्रमुख विशवकर्मा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *