अलपत्र सुर्खेतका १४ सडक

अलपत्र सुर्खेतका १४ सडक: निर्माण व्यवसायीसमेत रहेका रामेछापबाट निर्वाचित कांग्रेस सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ऊर्जा राज्यमन्त्रीको कुर्सीमा छन् ।

तर, उनको स्वामित्वको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनमाथि धमाधम कारबाहीको डन्डा चल्न थालेको छ ।

सडक र पुलको ठेक्का लिएर अलपत्र पार्दै आएको ‘क’ वर्गको कम्पनीलाई २३ कात्तिकमा मात्र प्रधानमन्त्री कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो ।

संखुवासभामा सडक अलपत्र पारेपछि सडक डिभिजन, तुम्लिङटारको सिफारिसमा कालोसूचीमा परेको कम्पनीलाई कर्णाली सरकारले पनि चेतावनी दिएको छ ।

सूचनालाई बेवास्ता गरी कार्य सम्पन्न नगरेमा ठेक्का सम्झौताका सर्त र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने (सम्झौता रद्द गरी कालोसूचीमा राख्ने) चेतावनी पनि दिइएको छ ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत, वीरेन्द्रनगरमा १४ सडक अलपत्र पारेपछि पूर्वाधार विकास निर्देशनालयले बिहीबार सार्वजनिक सूचना नै जारी गरी ‘समयमै काम सक्न’ भनेको हो ।

पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीका अनुसार कान्छाराम कन्ट्रक्सनले वीरेन्द्रनगरस्थित १६ वटा सहरी सडक १२ करोड ९४ लाखमा कालोपत्रे गर्ने ठेक्का पाएको थियो ।

तीमध्ये दुई सडक मात्र सम्पन्न भएका छन् ।

१४ सडक निर्माण पूरा नगरी अधुरो छाडिएको छ । १७ भदौँ ०७८ मा ठेक्का सम्झौता भए पनि निर्माण पूरा नगरी त्यसै छाड्दा सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएपछि कम्पनीलाई सचेत गराइएको उनले बताए ।

‘कुनै सडकको नाला मात्र निर्माण भएको छ । कुनै सडकमा ग्राभेल हालेर त्यसै छाडिएको छ ।

कतै कालोपत्रे गर्न तयारी गरेर अलपत्र पारिएको छ,’ निमित्त निर्देशक शाहीले भने, ‘अधिकांश सडक अलपत्र छाड्दा सवारी दुर्घटना हुने त भइ नै हाल्यो आउजाउ गर्नसमेत गाह्रो भएको छ ।’

कान्छाराम कन्स्ट्रक्सन र पूर्वाधार विकास निर्देशनालयबिच भएको सम्झौता २० मंसिर ०८१ मा सकिँदै छ ।

जिम्मेवारी पाएको काम नसकेर निर्माण कम्पनी सम्पर्कविहीन भएको छ ।

बारम्बार लिखित पत्राचार गर्दासमेत सम्पर्कमा नआएपछि सार्वजनिक सूचना जारी गर्न बाध्य भएको उनले बताए ।

‘राजधानीको सडक निर्माणमा लापरबाही गरेपछि धेरैपटक पत्राचार गर्‍यौँ, तर निर्माण कम्पनी सम्पर्कमा आएन । काम थाल्नुको साटो सम्पर्कविहीन भएर सडक लथालिंग बनाउने काम निर्माण कम्पनीले गरेका कारण सार्वजनिक सूचना जारी गर्न बाध्य भयौँ,’ शाहीले भने ।

पूर्वाधार विकास निर्देशनालयले वीरेन्द्रनगरको गुरुयोजनाका सडक निर्धारित समयमा सक्न निर्देशनसमेत दिएको छ ।

कनिका छरेजस्तै सडकमा निर्माण सामग्री छरेर योजना अलपत्र पारेको छ ।

‘म्यादभित्र कार्य सम्पन्न गर्न पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदासमेत कार्य सम्पन्न गर्न अटेरी गरेकोप्रति निर्देशनालयको गम्भीर ध्यानाकर्षण भएको जनाउ दिन पनि सार्वजनिक सूचना जारी गर्न परेको हो,’ उनले भने, ‘आफैँले पेस गरेको कार्यतालिकाअनुसारको प्रगति हासिल नगरेको, निर्माण कार्य अलपत्र पारी चरम लापरबाही गरेको र कार्य सम्पन्न गर्न आवश्यक अग्रसरता तथा चासो नदेखाएको हुँदा सम्बन्धित निर्माण कम्पनीलाई तुरुन्त कार्य सुरु गरी म्यादभित्र सम्पन्न गर्न सूचना जारी गर्न परेको हो ।’

त्यस्तै, कुइने, जामु, बाबियाचौर र जंगलघाटसम्मको सडकको निर्माणको ठेक्का पाएको जलजला निर्माण सेवा, घोराही–११, दाङको नाममा पनि निर्देशनालयले सार्वजनिक सूचना जारी गरेको छ ।

२२ मंसिर ०७८ मा सम्झौता भएको उक्त योजनाको दोस्रोपटक थपिएको म्याद पनि २५ चैत ०८१ मा सकिँदै छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *