रुसले अन्तरिक्ष पुर्‍यायो इरानी भूउपग्रह

रुसले अन्तरिक्ष पुर्‍यायो इरानी भूउपग्रह: इरानका दुई भू–उपग्रहसहित दर्जनौँ भूउपग्रह बोकेको रुसी रकेट अन्तरिक्ष प्रक्षेपण भएको रुसको रोस्कोसमोस अन्तरिक्ष एजेन्सीले बतायो ।

मस्को र तेहरानबिच बढ्दो घनिष्टतालाई प्रतिबिम्बित गर्ने यस कदममा सोयुज–२.१ नामक अन्तरिक्षयान निर्धारित समयमा सुदूरपूर्वी रुसको भोस्टोच्नी कोस्मोड्रोमबाट प्रक्षेपण भएको थियो ।

प्रक्षेपणको नौ मिनेटपछि मंगलबार नै रकेटले आफूले बोकेको भूउपग्रहरूलाई तोकिएको कक्षमा राखेको पनि रोस्कोसमोसले जनाएको छ ।

रोस्कोसमोसका अनुसार दुई रुसी र इरानका दुईसहित ५३ स–साना भूउपग्रहलाई सफलतापूर्वक कक्षमा राखिएको थियो ।

५३ वटा साना भूउपग्रहमध्येका दुई इरानी उपग्रहमा नाम कोसर (उच्च रिजोलुसनको तस्बिर खिच्ने उपग्रह) र होदहोद (सञ्चार उपग्रह) रहेको छ ।

यी उपग्रह देशको निजी क्षेत्रले बनाएर प्रक्षेपण गरिएको पहिलो चरणका उपग्रह हुन् ।

यसलाई ओमिदफाजा कम्पनीले निर्माण गरेको इरानी सरकार समाचार एजेन्सी आइआरएनएले बतायो ।

कम्पनीले सन् २०१९ मा उपग्रह डिजाइन सुरु गरेको थियो ।

रुसी रकेटले यसअघि सन् २०२२ मा पनि खयाम नामक इरानको पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण गरेको थियो ।

त्यसलाई तेहरानको अनुरोधमा रुस आफैँले निर्माण गरिदिएको थियो । रुसले यही वर्ष फेब्रुअरीमा पनि पार्स–१ नामक अर्को इरानी उपग्रहलाई अन्तरिक्ष कक्षमा राखेको थियो ।

पार्स–१ इरानको भूसतहको स्क्यान गर्ने अनुसन्धान उपग्रह रहेको इरानी सरकारी सञ्चारमाध्यमले त्यसवेला रिपोर्ट गरेका थिए ।

रुस र इरानबिच विभिन्न क्षेत्रमा सम्बन्ध विस्तार भइरहँदा अन्तरिक्षमा समेत त्यसको असर देखिएको छ ।

यसअघि तेहरानले युक्रेनी लक्ष्यमा आक्रमण गर्न मस्कोलाई ड्रोन उपलब्ध गराएको युक्रेन र पश्चिमले आरोप लगाउँदै आएका छन् ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *