कामकाजी बन्दै ‘ड्रोन’

कामकाजी बन्दै ‘ड्रोन’: केही अघिसम्म ‘ड्रोन’ भनेको आकाशमा उडाएर फोटो र भिडियो खिच्ने उपकरण हो भन्ने आमबुझाइ थियो । तर, अहिले ड्रोन भनेको एकदमै कामकाजी उपकरण हो भन्ने प्रमाणित हुन थालेको छ ।

आखिर ड्रोनले फोटो र भिडियो मात्रै खिच्छ कि अरू काम पनि गर्छ त ? यसबारे केही उदाहरण यस्ता छन् :

-रसुवामा निर्माणाधीन चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन अन्तर्गत प्रसारण लाइन निर्माणमा ‘ड्रोन’ प्रयोग गरियो ।

कुल २८ किलोमिटर लामो यो प्रसारण लाइन अन्तर्गत कठिन भूगोलमा प्रयोग गरिएको ड्रोनको भिडियो सामाजिक सञ्जालमा केही अगाडि चर्चित भएको थियो ।

रसुवा उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म तार तान्न ड्रोनको सफल प्रयोग गरिएको हो ।

– अघिल्लो महिना आएको वर्षा र बाढी पहिरोले सडक मार्ग अवरुद्ध भयो ।

यस्तो अवस्थामा स्थानीयलाई अत्यावश्यक सामग्री पठाउन काभ्रेपलाञ्चोक पनौती नगरपालिकामा ड्रोन प्रयोग गरियो ।

‘हामी नेपाल’ नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा ड्रोनमार्फत चामल तथा अन्य खाद्यान्न ढुवानी गरिएको थियो ।

हामी नेपालका स्वयंसेवक परीक्षण हुमागाईंलाई उद्धृृत गर्दै राष्ट्रिय समाचार समिति (रासस) ले लेखे अनुसार उक्त स्थानमा २० किलो बोक्न सक्ने क्षमताको ड्रोन प्रयोग गरिएको थियो ।

– म्याग्दी अन्नपूर्ण गाउँपालिकास्थित मोहरेडाँडामा पाँच किलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भइरहेको छ ।

गाउँपालिका अध्यक्ष भरतकुमार पुनका अनुसार यहाँ राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो ।

केन्द्रको टोलीले शुक्रबार र शनिबार नागीबाट मोहरेडाँडामा ड्रोनमा झुन्ड्याएर सामान पठाइ परीक्षण गरेको हो ।

पहाडी र विपद् प्रभावित क्षेत्रमा औषधि र उपभोग्य अत्यावश्यक सामान ढुवानीमा ड्रोन उपयोगी देखिएको छ ।

– गएको वसन्त ऋतु आरोहण याममा सगरमाथा क्षेत्रको फोहोर ओसारपसारमा विश्वकै ठूलो ढुवानी ड्रोनको सफल परीक्षण गरिएको थियो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले चिनियाँ कम्पनी डीजेआईलाई ड्रोनमार्फत फोहोर ढुवानी गर्न अनुमति दिएको थियो ।

गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाका अनुसार उपल्लो शिविरबाट आधार शिविरसम्म फोहोर ल्याउन ड्रोन प्रयोग गरी परीक्षण गरिएको हो ।

आगामी सिजनबाट हिमाली फोहोर ओसार्न ड्रोन प्रयोग गर्ने तयारी छ ।

पछिल्लो समय कतिपय स्थानमा व्यावसायिक कृषि कर्म गरिरहनेले बीउबीजन र विषादी छर्किन ड्रोन प्रयोग गर्न थालेका छन् ।

यसले एक त काम छिटो हुन्छ भने कामदार अभावको समस्याबाट समेत मुक्ति मिल्छ ।

राससले यसैसाता कञ्चनपुरबाट पठाएको एक रिपोर्टमा छ, ‘बेलौरी नगरपालिका–६ का किसान आसरेराम बडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक खेती गरेर मनग्य आम्दानी गरेका छन् ।’

गत साउनमा कञ्चनपुरमै नरभक्षी बाघ नियन्त्रणमा ड्रोनको सफल प्रयोग गरिएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरका अनुसार ड्रोनको सहायताले बाघको गतिविधि अवलोकन गरिएको थियो । जसले गर्दा उसलाई नियन्त्रणमा लिन सहज भयो ।

गत असारमा पहिरोसँगै त्रिशूली नदीमा दुई बस बेपत्ता भए । यी बसको खोजीमा पानीभित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको थियो ।

यद्दपि, अत्यधिक धमिलो पानी भएका कारण क्यामराले कुनै वस्तु भने फेला पार्न सकेन । तर, पछिल्लो समय सुरक्षा निकायले खोजी र उद्धारमा ड्रोनको प्रयोग बढाएका छन् ।

ड्रोन सामान्यतया भिडियोग्राफीमा प्रयोग हुने आमबुझाइ छ । तर, पछिल्लो समय मानिसको दैनिकीमा समेत यसको प्रयोग बढ्दै जाँदा ड्रोनको उपयोगिता समेत बढ्न थालेको छ । यसले दैनिकी सहजमात्र बनाएको छैन, मानिसको ज्यान बचाउन समेत उपयोगी बन्दै गएको छ ।

नेपालमा दुई किलो तौलसम्मका ड्रोन प्रयोग सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर उडाउन पाइन्छ ।

त्यसभन्दा माथिको ड्रोन प्रयोगमा भने गृह मन्त्रालयको अनुमति चाहिन्छ । ड्रोनको लाइसेन्स भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिनुपर्ने प्रावधान छ ।

उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम प्रभावकारी नियमन सहित उपयोग गर्ने हो भने नेपालले ड्रोनको सहायतामा धेरै काम गर्न सक्ने बताउँछन् ।

‘यो आकाशमा उड्ने प्रकारको वस्तु हो,’ उनी भन्छन्, नेपालजस्तो विकट भूगोल भएको स्थानमा कम मूल्यमा सहज पहुँचका लागि ड्रोन वरदान सावित हुन सक्छ ।’

यद्दपि, नियमनमा भने चुस्त हुनुपर्ने उनी बताउँछन् । ‘विश्वमा युद्ध र जासुसीका लागि पनि ड्रोन प्रयोग भएको पछिल्लो दृष्टान्त छन्,’ उनी भन्छन्, ‘तर, नेपालजस्ता मुलुकका लागि भने सही सदुपयोगबाट वरदान सावित हुन सक्छ ।’

भूकम्पको समयमा गगनचुम्बी भवन सुरक्षा अवलोकनदेखि पछिल्लो समय औषधि र अत्यावश्यक काममा ड्रोन उपयोग बढेको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *